गृहपृष्ठ Featured एसईईको नतिजा : प्रदेश २ कमजोर, प्रदेश ३ अगाडि

एसईईको नतिजा : प्रदेश २ कमजोर, प्रदेश ३ अगाडि

प्रकाशित मिति:

प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशहरुको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबभन्दा अगाडि देखिएको छ । अनिवार्य विषयतर्फ सातै प्रदेशमा फरक-फरक प्रश्नपत्र अनुसार परीक्षा लिइएको थियो ।

परीक्षाफल अनुसार १.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको प्रतिशत सबभन्दा बढी प्रदेश ३ मा छ । कुल एक लाख ३३ हजार विद्यार्थी मध्ये ९५.३८ प्रतिशतले उक्त समुहको जीपीए प्राप्त गरेका छन् ।

प्रदेश २ मा भने उक्त समूहको जीपीए ल्याउने विद्यार्थी संख्या ७७ प्रतिशत मात्र छ । उक्त प्रदेशबाट ६४ हजार ८ सय विद्यार्थीले परीक्षा दिएका थिए । सोही प्रदेशमा प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएर परीक्षा स्थगित भएको थियो । प्रदेश २ कै साक्षरता प्रदेश पनि सबभन्दा कमजोर छ ।

गण्डकी प्रदेशले पनि प्रदेश ३ कै हाराहारीमा नतिजा ल्याएको छ । ४६ हजार ४ सय विद्यार्थीले एसईई दिएकोमा उक्त समूहको जीपीए प्राप्त गर्ने विद्यार्थी ९४.८१ प्रतिशत छन् । सुदुरपश्चिम प्रदेशको नतिजा भने प्रदेश २ पछिको कमजोर देखिन्छ । सुदूरपश्चिमबाट ७९ प्रतिशत विद्यार्थीले मात्र उक्त समुहको जीपीए ल्याएका छन् । २१ प्रतिशत परीक्षार्थीले १.६ भन्दा कम जीपीए ल्याएका छन् । त्यहाँबाट ४९ हजार ६ सय जनाले परीक्षा दिएका थिए ।

सुदूरपश्चिमपछि कर्णाली प्रदेशको नतिजा कमजोर देखिन्छ । ३२ हजार ३ सय परीक्षार्थी रहेकामा सोही समूहको जीपीए ल्याउने ८३ प्रतिशतमात्र छन् । उक्त जीपीएअर्न्तगत प्रदेश १ र ५ मा क्रमशः ८८ र ८७ प्रतिशत नतिजा देखिन्छ । प्रदेश १ बाट ७९ हजार ३ सय परीक्षार्थी थिए भने ५ बाट ७३ हजार ६ सय विद्यार्थी सहभागी थिए ।

बोर्डले ग्रेडवृद्धि परीक्षाको नतिजा भने सार्वजनिक गरेको छैन । सार्वजनिक नतिजामा बढीमा दुई विषयमा ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिको लागि पुरक ग्रेडवृद्धि परीक्षा दिन सक्नेछन् । उक्त परीक्षाको लागि समय तालिका छिट्टै सार्वजनिक गरिने परिक्षा नियन्त्रकले जनाए । परीक्षाले नतिजामा चित्त नबुझे पुनर्योग गराउन सक्नेछन् ।

नतिजा प्रकाशन भएको १५ दिनभित्र परीक्षा नियन्त्रण कार्यालय, प्रदेशस्थित शिक्षा विकास निर्देशनालय वा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिनसक्ने व्यवस्था छ । चैत १० गतेदेखि परीक्षा सञ्चालन भएको थियो ।

सम्बन्धित् समाचार