गृहपृष्ठ Featured अन्तर्राष्ट्रिय विमानस्थल अझै खुलेन, यतीको विमान हटाउन सकस

अन्तर्राष्ट्रिय विमानस्थल अझै खुलेन, यतीको विमान हटाउन सकस

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै उडान सुचारु हुन सकेको छैन ।

नेपालगञ्जबाट यात्रु लिएर आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मेदानमा पुगेको थियो ।

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि
लगतै विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ । विभिन्न ठाउँ जान विमानस्थल पुगेकाहरु अलपत्र परेका छन् । नेपाल आउँदै गरेका अधिकांश विमान डाइभर्ट गरिएको छ ।

अहिले विमान हटाउने प्रयास भइरहेको छ । जहाजको एउटा पांग्रा हिलोमा गाडिएका कारण निकाल्न कठिन भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘पछाडिको एउटा पांग्रा हिलोमा गाडिएको छ । अहिले ज्याक लगाएर जहाज उठाएर पांग्रामुनी ठोस वस्तु राखेर बाहिर निकाल्ने तयारी भइररहेको छ’ उनले भने । हिलो र अधिक वर्षाका कारण काममा ढिलाइ भएको महाप्रबन्धक क्षेत्रीले बताए ।

विमान हटाउन समय लागेका कारण विमानस्थल कार्यालयले साँझ ५ बजेसम्म नोटाम जारी गरेको छ । ५ बजेसम्मका लागि नोटाम जारी गरे पनि जहाज पन्छाउन त्यसभन्दा बढी समय लाग्नसक्ने विमानस्थल कार्यालयको भनाइ छ ।

सम्बन्धित् समाचार