बाणगंगा नगरपालिकाले गत आर्थिक बर्षको २०७५ /०७६ मा लक्ष्य भन्दा बढी आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । ३ करोड ७० लाख राजश्व उठाउने लक्ष्य राखेकोमा ३ करोड ८८ लाख ३१ हजार राजश्व संकलन गरेको नगरपालिकाले लक्ष्य भन्दा १८ लाख ३१ हजार बढि राजश्व संकलन गरेको छ ।
त्यस्तै सम्पत्ति तथा भूमिकर ५२ लाख, घर सम्पत्ति बहाल १६ लाख १० हजार , बहाल फिरौती ७ लाख ६६ हजार , ब्यबस्थापन कर ८ लाख ३१ हजार , सरकारी सम्पत्तिको बहाल, १० लाख ९६ हजार , नक्शा पास ४५ लाख , सिफारिस दस्तुर ७७ लाख ४३ हजार, ब्यक्तिगत घटना दस्तुर ,१ लाख ३० हजार , नाता प्रमाणित २ लाख ३० हजार ,अन्य दस्तुर ११ लाख , प्रशासनिक दण्ड जरिवाना ५६ लाख ४७ हजार असुली भएको छ, भने अन्य सेवा शुल्क मा ९७ लाख राजश्व असुली भएको बाणगंगा नगरपालिकाका शाखा अधिकृत शान्ताराज आचार्यले बताए ।

उक्त सफलता प्राप्त गर्न नगरका जनप्रतिनिधिहरुको आर्थिक पारदर्शिता तथा कर्मचारी र प्रशासनको लगनसिलताका साथ नगरपालिकाले आन्तरिक राजश्व संकलनमा बृद्घि गर्न सफल भएको हो । नगरमा स्थानियहरुले समयमा कर तिर्दा , नगरले करदर फराकिलो बनाउँदा , समयमानै प्रचार प्रसार गर्दा लक्ष्य भन्दा बढि राजश्व उठाउन सफल भएको हो ।
यस्तै अघिल्लो आर्थिक बर्ष २०७४ ÷ ०७५ मा यस नगरपालिकाले २ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा १ करोड ९४ लाख ४० हजार ४ सय १२ रुपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक बर्ष २०७६ ÷ ०७७ मा बाणगंगा नगरपालिकाले ४ करोड १४ लाख १३ हजार राजश्व उठाउने लक्ष्य राखेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीले बताए । उनले नगरको करलाई ब्यबस्थित गर्न उद्योग बाणिज्य संघ संग समन्वय गरेर संघ संग मिल्ने गरी कर निर्धारण गर्ने लक्ष्य रहेको बताए ।
बाणगंगा नगरपालिका अन्तरर्गत पर्ने दुई वटा ठुला नदी बाणगंगा र कोईली नदीमा गत आर्थिक बर्ष ०७५ ÷ ०७६ मा नदीजन्य पदार्थ निकाल्नका लागि दिईएको ठेक्का संझौता पत्रबाट राजश्वको बाँडफाड भएको छ । बाणगंगा नदिलाई ४ करोड ११ लाख र कोईली नदिलाई १ करोड १७ लाख ५५ हजारमा ठेक्का दिने निर्णय भएको थियो । नदिका ठेक्काबाट प्राप्त रकम नदिजन्य पदार्थ बालुवा, गिट्टी , ढुंगां उत्खननबाट प्राप्त राजश्व बाँडफाड पश्चात बाणगंगा नगरपालिकालाई २ करोड ७९ लाख ७१ हजार १ सय ६० रुपैंया प्राप्त भएको छ । भने प्रदेश सरकारलाई १ करोड ८६ लाख ४८ हजार र जिल्ला समन्वय समिति कपिलबस्तुलाई ९ लाख ५१ हजार ४ सय रुपैंया बाँडफाड गरि राजश्व बुझाएको नगरपालिकाले जनाएको छ ।