संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध विमानस्थल बिहीबार निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

आगामी डिसेम्बर महीनाभित्रै अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने, “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।” कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए ।