गृहपृष्ठ Featured कार्यालय समयमा निदाउने, फेसबुक चलाउने कर्मचारीको तस्बिर संकलन गरेको छु, कारबाही हुन्छ : मन्त्री भट्टराई

कार्यालय समयमा निदाउने, फेसबुक चलाउने कर्मचारीको तस्बिर संकलन गरेको छु, कारबाही हुन्छ : मन्त्री भट्टराई

प्रकाशित मिति:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरूलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन्।

मन्त्री भट्टराईले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिए।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरूलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारे।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरूको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरूमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिए।

सो विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ।

मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरू बढी अनुशासित हुनुपर्ने पनि बताए।

मन्त्री भट्टराईले सेवाग्राहीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरू गरिएको स्पष्ट पारे।

उनले ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे।

प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरू सहभागी भएका छन्।

सम्बन्धित् समाचार