घर बनाउने सपना देखेर
वर्षौं पहिले घर छोडेको उसले
गए राती एउटा सपना देख्यो
‘घर बनेको सपना !’
आसको आँगन
किस्मतको कौसी
खुसीका खोपीहरू
उमंगको उद्यान
जीवन जस्तो एउटा घर !
घर जस्तै एउटा जीवन !
देखिरह्यो-
खेलिरहेका छन बाख्राका पाठा झैं
केटाकेटीहरू छतमा !
हराए पनि समय चपाएर फुक्लिएका दाँतहरू
हर्षको थोते हाँसो हाँसिरहेछन
बा-आमा बार्दलीमा बसी !
सारीको सप्को मिलाउँदै शानसंग
भित्र-बाहिर गर्दी छन संगिनी !
संगाल्न भ्याइ-नभ्याइ छ उनलाई
वर्षौं पहिले माइती देश बाट देखेका
टिमटिमे ताराहरू त्यही सारीको सप्को भरी !
संसार खिचिरहेछन भाई-भतिजहरू
उमंगका आँखाहरूले !
तरंग सिंचिरहेछन दिदी-बैनीहरू
प्राप्तीका भाकाहरूले !
लामो लर्को छ ‘गेट’ देखि भान्सा सम्म
आफन्तहरूको
छिमेकीहरूको
सैं-साथीहरूको !
‘फलानाको घरमा त उत्सव छ रे !’
खबर फैलाइरहेछ मानिसहरूको एक हुल
सहरभरी दावतको !
मार्चपास गरिरहेछन ‘खाने’ हरू यसरी
मानौं, छुट्यो भने त्यो उत्सव
युगौं-युग सम्म भोकै परिने छ जसो गरी !
देखिरह्यो-
बजिरहेछन सम्पन्नताका बाजाहरू
नाचिरहेछन सुनका मजूरहरू !
लहराइरहेछन उत्साहका ध्वजापताका
पड्किरहेछन खानदानी पटाकाहरू !
लगाइरहेछन पण्डितहरू होम, कटाइरहेछन ग्रह
हेरिरहेछन ज्योतिषहरू जोखना
नापिरहेछन वास्तुविधहरू उसका सपनाको आकार !
कोही देखिंदैनन निरास वरीपरी
कोही देखिंदैनन नाखुस परिवेश भरी !
चराहरूको तँछाडमछाड छ उसको छानोमा बस्न
फूलहरूको हानथाप छ उसकै बगैंचामा फुल्न !
बादल तयारी गर्दैछ ठूलै रंग वर्षाको
आकास लागि परेको छ
उसकै धुरी छुने गरी लामो इन्द्रेणी उमार्न !
प्रवेशद्वारमा लेखिएको छ -स्वागत छ स्वप्न महल भित्र
बैठक कोठामा टाँगिएका छन -संघर्षका अनेकन चित्र
तोकिएको छ-
घाम लाग्ने कोठो बा-आमाको
सपना देखिने कोठो बैनीको
उज्यालो कोठो भाईको
सिसै सिसाको कोठो जहानको !
उघारेर हेर्छ पर्दा सम्बन्धको-
‘डबल बेड’को पलंग छ,, तन्ना ‘सिंगल’ छ !
सिरानमा युगल फोटो छ,, सिरानी ‘सिंगल’ छ !
छाती नाप्छ, चौडा नै पाउँछ,, सिरक ‘सिंगल’ छ !
मुटु छाम्छ,चलेकै भेट्छ,, चाहना ‘सिंगल’ छ !
मेरो कोठो खोई !?
खोज्न थाल्छ बर्बराउँदै
सोध्छ धेरै पटक आफैलाई-
‘ऐठन किन हुन्छ जहिले मैलाई !’
‘बेसमेन्ट’मा झर्छ,
धुलै-धुलो
जालै-जालो
कालै-कालो
एक छेऊमा ‘समय’ थुनिएको देख्छ
अर्को कुनामा ‘उमेर’ च्याँपिएको भेट्छ
अझै खोज्छ पर-पर सम्म,
थाहै नपाई छुटेका रहरहरू
लहरै झुन्डिएका छन मुगलाने डोरीमा !
हतारले घिसारेका प्रहरहरू
सर्लक्कै सेरिएका छन स्वार्थको खुकुरीमा !
कुनामा कोही सुतिरहेको देखिन्छ चीर निद्रामा !
को होला त्यो ?!
अनुहार उसकै जस्तो छ दुरुस्तै
थकान उसकै जस्तो देखिन्छ दुरुस्तै
अनन्त विश्राम पनि उसकै जस्तो लाग्छ दुरुस्तै !
बोलाउँछ, चलाउँछ
चिमोट्छ, चिच्याउँछ
अहँ उठ्दैन सुतेको ऊ !
पटक्कै उठ्दैन
मरीगए उठ्दैन
‘मरी गयो’ उठ्दैन !
संसारको सबै भन्दा गाह्रो काम
आफ्नो लाश आफैले उठाउनु हो रहेछ !
✍️हेमन्त गिरी,जापान