वैखरी अनलाइन ,
भारत सरकार को भाषा एवं संस्कृति मन्त्रालय को अंगभूत संस्था साहित्य एकेडमी ले २३ राजमानित भाषाहरुमा आफ्नो वार्षिक युवा पुरस्कार २०१९ को घोषणा गरेको छ।
घोषणा गरिएको पुरस्कारहरुमा कविता विधाको बोलबाला रहेको छ । एकेडमी द्वारा प्रतिवर्ष प्रदान गरिने यस युवा पुरस्कार मा यस वर्ष युवा पुरस्कार का निम्ति चयनित कृतिहरुमा कविता का ११ पुस्तकहरु, कथाका ६ पुस्तकहरु ५ उपन्यासहरु र १ साहित्यिक आलोचना को कृति सामेल छन् ।
‘साहित्य अकादमी युवा पुरस्कार २०१९’ का लागि २३ भाषाका भाषाविद् विद्वान् प्रतिनिधि सदस्यहरूको चयन समिति द्वारा अनुशंसित युवा लेखक र विद्वान्हरुलाई भारत सरकार को उक्त संस्था ले पुरस्कार घोषणा गरेको हो।
यस अन्तर्गत प्रदेश नम्बर ५ को पाल्पा जिल्लाको माणि ठूलाचौर भन्ने गाउँमा जन्मिएका युवराज भट्टराई को वाग्विलासिनी काव्य लाई संस्कृत भाषामा युवा पुरस्कार का लागि साहित्य एकेडमी द्वारा चयन गरिएको छ। यस्तो प्रतिष्ठित पुरस्कार पाउने उनि पहिलो नेपाली युवा लेखक हुन।
को हुन् युवराज भट्टराई ?
युवराज भट्टराई को प्रारम्भिक प्राथमिक शिक्षा दीक्षा ठूलाचौर कै श्री जनप्रिय प्राथमिक विद्यालय मा भएको हो र त्यसपछि उनले संस्कृत अध्ययन का लागि भारत को नयाँ दिल्ली स्थित शारदादेवी संस्कृत विद्यापीठ नामक गुरुकुल मा प्रवेश लिएका थिए ।
विद्यालयीय शिक्षा त्यसै गुरुकुल मा सम्पन्न भए पछि उनले स्नातकीय अध्ययन पनि दिल्ली स्थित श्री लालबहादुर शास्त्रि राष्ट्रिय संस्कृत विद्यापीठ मा पाणिनीयव्याकरण विषय मा पूरा गरी त्यस पछि परास्नातक को पढ़ाई संस्कृत व्याकरण विषयमा नै दिल्ली विश्वविद्यालय को हँसराज महाविद्यालय मा सम्पन्न गरेका थिए ।
संस्कृत को पारम्परिक र आधुनिक दुबै धारा का विद्वान युवराज भट्टराई का वाग्विलासिनी र मनोनुरंजिनी नामक दुइ वटा संस्कृत काव्यहरु प्रकाशित भै सकेका छन्। यी दुबै काव्य कविता का शाश्वत विषय भक्ति र श्रृंगार लाई आश्रय बनाएर लेखिएका छन्।
यस अघि बनारस को अखिल भारतीय विद्वत् परिषद् ले पनि युवाविद्वान् का रूपमा सम्मानित गरेको थियो र बनारस कै विश्वप्रसिद्ध वाग्योग चेतना पीठ द्वारा पनि उनको प्रतिभा र संस्कृतसेवा देखेर सम्मानित गरेको थियो।
साहित्य एकेडमी पुरस्कार ३५ बर्ष भन्दा कम उमेरका लेखकहरूलाइ प्रदान गरिन्छ भने यो पुरस्कारको राशी ५० हजार भारतीय रूपैयाँ रहेको छ ।