कार्कीका कवितामा बिम्बको बिबिधत
असोज ११ शनिबार / भरतपुर
कवि जनक कार्कीले कविता लेख्न थालेको धेरै समय भएको छैन । तर उनका कविताको शक्तिले कविता प्रति उनको सचेतता प्रष्ट पार्दछ । शनिबार चितवनमा आएर कविता सुनाएका उनलाई चितवनका स्रोताले करिव एक घन्टा धैर्य गरेर सुने, उनका कविता सुनेर आनन्दीत बने ।
सम्पूर्ण किताबको आयोजनामा ग्लोबल होटेल भरतपुरमा भएको एकल कविता वाचन कार्यक्रममा उनले दर्जनबढी कविता सुनाए । कार्यक्रमको सुरुवातमा बिजुलीको खम्बा शिर्षकको कविता सुनाए । यस कविता मार्फत उनले पन्चायत, लोकतन्त्र र गणतन्त्रले नेपाली समाजलाई के दियो भन्ने बारेमा वर्णन गरेका छन् । त्यसपछि उनले अखबार अर्थात अखडा, विवेकशील मनुष्य, सियो, रत्नपार्क पैसा किन्दैछ, छोडेर जानुको रहस्य, लघुशक्ति, पुरुषको नग्न मस्तिष्क, महिनावारी शिर्षकका कविता सुनाए ।
कवि कार्की कविता मात्रै लेख्दैनन्, उनी बिदेशी कविका कवितालाई भावानुवाद पनि गर्छन् । उनले भारतीय कवि कुमार अम्बुस र ब्राजिलियन कवि मार्था मेरिडसको अनुवाद कविता पनि कार्यक्रममा सुनाए । कविता सुनेपछि समालोचक उदय अधिकारीले कवि कार्कीलाई विश्व परिवेश जानेका र विविधता झल्कने गरि कविता लेख्नसक्ने कवि भएको बताए ।
अधिकारीले उनलाई कविताको लामो यात्रामा निस्केको कविको उपाधी दिए । कवि कार्की पाल्पाबाट कविता सुन्न चितवन आएका हुन् । उनी एक दशकभन्दा बढी बिदेशमा बसे । बिदेश बसाइँका क्रममा उनले प्रशस्तै कविता लेखे । खासमा उनी कविता लेख्न भने बिदेश गएका थिएनन् । लामो अरव बसाइँमा उनले आफुले श्रम मात्रै गरेनन्, श्रम गर्न गएका आफुजस्तै साथीभाइका दुख, बिलौना पढे र त्यसकै कविता लेखे । त्यसकै भुक्तभोगी आफू पनि बने । उनले सिर्जना गरेका केही कविताहरु `अनुहारको भिड´ संयुक्त कविता सङ्ग्रहमा पनि छन् ।
कवि ईश्वर कँडेलले उनलाई फरक ढंगका बिम्ब प्रयोग गरेर कविता लेख्ने कविका रूपमा चित्रण गर्दै उनका कवितामा क्लासिक फ्लेभर मगमगाएको बताए । उनका कवितामाथि अम्बिका कार्की, रुद्र कँडेल, तेजबहादुर कार्की, सिमरन क्षेत्री, बिपिन पाठक लगायतले टिप्पणी राखेका थिए । कार्यक्रमको अन्त्यमा सुजाता देवकोटा र सिमरन क्षेत्रीले कवि कार्कीका एकएकवटा कविता पढेर सुनाए ।