कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ ।
धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ ।
अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन्– बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरिबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । तर, २ र ४ हजार बचत गरेर के नै हुन्छ र रु भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ ।
आजको स-सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस् । तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने ? त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँचाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ ।
एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्ने हो भने एक वर्षमा करिव ३,६५० रुपैयाँ हुँन्छ । तपाईं सिगरेट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुहोस् । र, त्यो पैसा बचत गर्नुहोस् ।
अनि यसरी बचत गरेको पैसा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा राख्नुहोस् । यी संस्थाहरुले ब्याज दिन्छन् । र, तपाईको पैसाको सुरक्षा पनि राम्रो हुन्छ ।
बैंकको ब्याजले मात्रै पनि पुग्दैन । त्यसैले यसरी बचत गरेको पैसाले बीमा गर्नुहोस् । बीमा गर्नुभयो भने तपाईंले आफ्नो लाखौंको जोखिम न्यूनिकरण गर्न सक्नुहुन्छ । बीमा गर्नका लागि खर्च गरिएको रकम पनि बचत नै हो ।
खर्च गर्नुअघि १० पटक सोच्नुहोस् कि यो मेरो आवश्यकता हो कि होइन भनेर । यदि तपाईंको आवश्यकता होइन भने खर्च गर्नतिर नलाग्नुहोस् ।
धनी र सफल बन्न चाहने मानिसले आफ्नो लाइफस्टाइलबाट हटाइदिनुपर्ने कुराहरु
बोल्ने मात्र, काम चाहि नगर्ने
तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनु भएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ ।
कुनै लक्ष्य नहुनु
मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ ।
काममा फोकस नहुनु
तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुपर्छ । काममा जिद्धी ढंगले निरन्तर लागिरहनुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुपर्छ ।
आफूलाई शंका गर्न छाड्नू
यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ ।
त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुल्झाउने कोशिश गरिराख्नुहोस् ।
उपयुक्त समयको प्रतिक्षा गर्नु
यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।
नपढ्नु
नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
खुशी कहाँ खोज्ने त ?
हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ?
किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी ।
त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो ।
हामी सन्तुलित खानेकुरा खान्छौं । व्यायाम गर्छौं । सक्रिय रहन्छौ । किन ? किनभने शरीरमा कुनै कष्ट नहोस् । दुःख नहोस् । अर्थात खुशी मिलोस् ।
खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो । तर, कहाँ पाइन्छ खुशी ? कसरी मिल्छ खुशी ?
हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले खुशी दिन्छ । हो, यसले हाम्रो जीवन यापनलाई सहज बनाउँछ । हाम्रा अप्ठ्यारा र समस्याहरु सल्टाइदिन्छ । जीवनलाई केही हदसम्म सहज बनाउँछ । यसर्थ यी माध्यम हुन्, स्रोत होइनन् ।
पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ ।
यसर्थ खुशीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।
खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ ।
नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ?
वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ ।
खुशी कहाँ खोज्ने त ?
खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो । हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।
खुशी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन । ऐश आरमको जरुरत पर्दैन । मिष्ठान्न भोजनको आवश्यक्ता पर्दैन । खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ ।
खुशी किन हुने त ?
जब हामी खुशी हुन्छौ, प्रफुल्ल हुन्छौ, तब हामी आसपासको वातावरण पनि राम्रो हुन्छ । हाम्रा अघिल्तिर उभिएका मान्छे पनि प्रफुल्ल हुन्छन् । घर परिवारका सदस्य खुशी हुन्छन् । खुशीले खुशी विस्तार गर्छ ।
जब हामी खुशीको अवस्थामा हुन्छौ, हाम्रो मन शान्त हुन्छ । मस्तिष्क स्थिर हुन्छ । हामी फुरुंग हुन्छौ । यसले शरीरका विकारहरु हटाउँछ । रिस राग, घृणा, क्रोधको स्तर घटाइदिन्छ । अर्थात हाम्रो मनोविकार पखालिन्छ ।
यसर्थ हामी खुशी हुनुपर्छ । खुशी हामी आफैसँग छ । साना साना उपलब्धी, साना साना कुरामा पनि हामीले खुशी हुने प्रवृत्तिको विकास गर्नुपर्छ । किनभने खुशी नै संसारको सौन्दर्य हो ।
खुशी हुनका लागि त्याग्नु पर्ने केही कुरा
गहिरो सास लिने गर्नुस्
दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ ।
गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् ।
चाहना कम गर्नुस्
चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।
धेरै महत्वाकांक्षा नराख्नुस्
कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महवाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ ।
यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महवाकांक्षी नबन्नुस् ।
मुस्कुराउनुस्
हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ ।
हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ ।
ऐना हेर्दा खुशी हुनुस्
ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् ।
दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ ।
अरूले चाहेजस्तो नबन्नुस्
अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् ।
यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पु¥याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।
लाज नमान्नुस्
तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।
सिर्जनात्मक काममा लाग्नुस्
लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।
कसरी हाँस्दा शरीरलाई फाइदा पुग्छ ?
हामी यदि हाँस्छौ भने, त्यसले हामीलाई खुसी तुल्याउँछ । हामीलाई मात्र होइन, हामी आसपासका मौहल पनि रमाइलो बन्छ । साथमा रहेकाहरु खुसी हुन्छन् । यसले सकारात्मक उर्जा पैदा गर्छ ।
हाँस्नका लागि हामीले पैसा खर्च गर्नुपर्दैन । न पालो पर्खनुपर्छ । जहाँपनि, जहिलेपनि हाँस्न सकिन्छ । कतिले भन्छन् पनि, ‘जसले हाँस्न जानेको छैन, उसले बाँच्न पनि जानेको छैन ।’
हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । यो हामीलाई थाहा छ । तैपनि हामी हाँस्न कञ्जुस गर्छौ । कुष्ठा, आवेग, इष्र्या, दुख, पीडा जस्ता तत्व हावी भएपछि हामीलाई हाँस्न मन लाग्दैन । वा हाँस्न सक्दैनौ । जबकी हाँस्दा यी मनोविकार पनि हट्ने बताइन्छ ।
निशुल्क उपचार
हाँस्नु भनेको आफैमा उपचार हो । जब हामी दिल खोलेर हाँस्छौ, शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । यसले हृदयलाई स्वस्थ्य राख्छ । जसरी स्वच्छ हावा, स्वस्थ्य खानपान शरीरका लागि जरुरी हुन्छ, उसैगरी हाँसो पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
हाँस्ने अनेक बाहना
हाँस्नका लागि अनेक बाहना खोज्न सकिन्छ । कुनै न कुनै निहुँ बनाएर मस्त हाँस्न सकिन्छ । यसले मनोविकार हटाउँछ । चिन्ता, तनाव, पीडा अनुभव हुन दिदैन । नकारात्मक भाव आउन दिदैन ।
हुन त अहिले हाँस्ने अभ्यास पनि गराइन्छ । विभिन्न योगा कक्षमा हाँस्न सिकाइन्छ । बिहानको ताजा हावामा उन्मुक्त हाँस्दा स्वास्थ्यलाई फाइदा गर्छ ।
स्वास्थ्य विज्ञहरुका अनुसार हाँस्दा मनमा उमंग छाउँछ, खुसी छाउँछ । शरीरमा सकारात्मक उर्जा प्रवाह हुन्छ ।
रक्त प्रवाह
खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ ।
प्रतिरक्षा प्रणाली बलियो
हाँस्दा हाम्रो रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले हामीलाई विभिन्न रोगसँग लड्न सहयोग गर्छ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ ।
अनिन्द्राको औषधी
यदि अनिन्द्राको समस्या छ भने, खुब हाँसौ । यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ ।
मुटुलाई फाइदा
हाँस्दा हाम्रो मुटुले राम्ररी काम गर्न पाउँछ । साथै नियमित रुपले हाँस्दा हृदयघातको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन ।
जवान र सुन्दर देखिने
जवान र सुन्दर देखिने चाहाना जो कोहिलाई हुन्छ । यो चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो । जब खुलेर हाँसिन्छ, अनुहारको मांसपेशीले राम्ररी काम गर्छ । यसले गर्दा अनुहारको चारैतर्फ रक्त प्रवाहुन्छ । यसले सुन्दर र जवान देखिन्छ ।
तनाव हटाउने
तनाव हटाउनका लागि सबैभन्दा राम्रो एवं प्राकृतिक औषधी हो, हाँसो । हाँस्दा हाम्रो मुड परिवर्तन हुन्छ । यसले तनाव हटाइदिन्छ ।
शरीरमा ताजा हावा
जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ । हाँस्दा इनर्जी पनि मिल्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।