कपिलवस्तुमा सुनिए दर्जनौं स्रष्टाहरू
- गोमा सापकोटा,कपिलवस्तु
दधि-स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा हिजो कार्तिक २ गते शनिबार कपिलवस्तुमा कवि गोष्ठी , रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
देशका विभिन्न स्थान बाट प्रतिनिधि मुलक रूपमा उपस्थित भएका दर्जनौं स्रष्टाहरूले रचना वाचन गरि माहोल तताएका थिए ।
बिशेष गजल वाचकको रूपमा उपस्थित भएका गजलकार नकुल पौडेलले माहोललाइ अझ धेरै ‘गरम’ बनाएका थिए ।
भोका बस्तीलाई एउटै कुराको चिन्ता लाग्दैन।
खाली पेटमा कमसेकम पखाला लाग्दैन।
हुरिले पनि महल होइन झुपडी नै भत्काउछ
खिया पनि फलाममा लाग्छ सुनमा लाग्दैन।
ढुक्क हुनुस् अब पिउँदैनौ यो धाराको पानी
हामी अछुत हौँ हामीलाई तिर्खा लाग्दैन।
खै सरकारले खुन चुसेको थाहा पाएर हो कि
अचेल त गाउँ घर तिर पनि जुका लाग्दैन।
पासो लगाउदा आधाकल्चो छोड्ला झै लाग्छ
तिम्ले दिएको मफलरको पनि भरोसा लाग्दैन।
पहिलो र दोश्रो चरणमा नकुल पौडेलले करिब ८ वटा गजल वाचन गरेका थिए ।
बुहारी आइन खुशिको कुरा पनि छ
छोरा आफ्नो नहुने हो कि चिन्ता पनि छ
ए शहर जाने दाइ सरकारलाई भनिदिनु
यो देशको नक्सा भित्र हुम्ला पनि छ
फुलले कहिल्यै सुन्दरताको घमन्ड गरेन
छ्नत फुल संग बासना पनि छ
आज पैसा नपुग्ने भो चामल भोलि किनौँ
किन्नुपर्ने बच्चालाई गुडिया पनि छ
आकाशका तारा टिप्यो प्रियसिलाई दियो
प्रेम गर्नुमा एउटा छुट्टै मजा पनि छ
नकुल पौडेल
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकमा रहेको नेपाल किसान ट्रयाकटर समितिको सभाहलमा उक्त कार्यक्रम गरिएको हो ।
केबि धुवाँलेको गजल गायन , सुशील सापकोटाको तरन्नुम , सोतन्त्र नेपालका मुक्तकले भरपुर मात्रामा ताली पाए बिष्णु विवश पोख्रेलका हिन्दी , नेपाली गजल , कवि देश बन्धु , चन्द्रकान्त न्यौपाने रसिकका कविता , गणेश प्रसाद खनाल, पुष्कर भुसालका गजलले कार्यक्रममा उपस्थित श्रोता तथा स्रष्टाहरूलाइ मन्त्रमुग्ध पारेको थियो ।
कार्यक्रममा विष्णु घर्ती भनभनेलीको कविता संग्रह चालिस चक्र र धनीराम रेस्मीको खण्डकाव्य अबोध चेलीको लोकार्पण गरिएको थियो । चालिस चक्रको सङ्क्षिप्त समीक्षात्मक टिप्पणी राजेन्द्रकुमार आचार्यले गर्नु भएको थियो भने अबोध चेलीको समिक्षा दुर्गा प्रसाद अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रममा
१ नवराज पाण्डेय ’चातक’रुपन्देही शिव तुलसा छन्दरथी साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
२ पशुपति मणि त्रिपाठी ,कपिल्बस्तु (आदित्यराज साहित्य रत्न पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
३ देवकी निरौला ,बाँके ( आदित्यजङ्ग गजल गौरव साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
४ अर्जुन कुमार पौडेल ’शर’,दाङ (टिकाराम काव्य शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
५ राघवेन्द्र कुमार श्रीवास्तव ,कपिलवस्तु (वासुदेव गजल शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
६ महेश जंग कुँवर , काठमाडौ (पुरूसोत्तम नैनादेवी आख्यान साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
७ पवन अधिकारी ,कपिलवस्तु (प्राची बाल साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
द्वारा स्रष्टाहरूलाइ अभिनन्दन गरिएको थियो ।
सम्मानित स्रष्टाहरूका रचनाहरूले कार्यक्रममा उपस्थित श्रोताहरू उत्साहित भएका थिए ।
८८ वर्षीय कवि तेज कुमार बौद्वाचार्य देखि बाल कविहरू आराध्या पौडेल , जोशीका कंडेल ,पवन अधिकारीका कविताहरू खुब रूचाइए ।
नेपाली , हिन्दी , उर्दु र अवधी रचनाहरूले कार्यक्रमको गरिमा बढाएका थिए ।
प्रमुख अतिथिको रूपमा रहनु भएका डा.घनश्याम न्यौपाने परिश्रमीले लेखकहरूलाइ भरपुर मात्रामा अध्यन गर्न अनुरोध गर्नु भयो साथै पछिल्लो समय स्रष्टाहरू गुटबन्दीमा लागेर वाहवाहीको पछाडी लागेको भन्दै यस्तो कार्यले कालान्तरमा स्रष्टाहरूलाइ नै हानी पुग्ने भन्दै लेखकहरूले चिन्तन र अध्यानमा जोड दिनु पर्ने बताउनु भयो।
दधि-स्मृति साहित्य समाजका उपाध्यक्ष देवका भण्डारीको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रमको संचालन संस्थाका सचिव समीर शायर द्वारा गरिएको थियो भने वार्षिक प्रतिवेदन कोषाध्यक्ष लेखनाथ घिमिरेले प्रस्तुत गर्नु भएको थियो ।
फोटोहरू किरण सोमै मगर,थप तस्विरहरू हेर्न यहाँ थिच्नुहोस्