गृहपृष्ठ Featured तिहार सुरु,आज काग तिहार मनाइँदै

तिहार सुरु,आज काग तिहार मनाइँदै

प्रकाशित मिति:

कात्तिक ९, २०७६ काठमाडौं :

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ।  कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ। शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।

वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ।   दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित पनि तिहार पर्व गाँसिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै शुरु भएको छ।

सम्बन्धित् समाचार