लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ । आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ ।
बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको छ ।
कर्फ्यु कायमै
यद्यपि बिहीबार बिहानदेखि लागेको कर्फ्यु भने हटाइएको छैन । बिहीबार मध्यान्ह कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा लगाइएको कर्फ्यू अर्को आदेश नभएसम्मका लागि जारी रहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । शुक्रबार मध्यान्हसम्म कर्फ्यु पनि हट्न सक्ने श्रेष्ठले बताए ।








