जिल्लाको ठूलो र ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुँइचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिका–३ वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न मंगलबार विहानैदेखि हजारौं भक्तजन आएका छन् ।
धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएका कारण पनि टाढा–टाढाबाट तीर्थालु एक दिन अगाडि नै आएर बसेका थिए । मंगलबार (आज)लाग्ने मेलाका लागि सोमबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो ।
राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लामो लाइन छ । ८० कि.मि. टाढा भारतको बस्ती र सिद्धार्थनगर जिल्ला लगायत छिमेकी दाङ, रुपन्देही र नवलपरासीबाट समेत श्रद्धालु भक्तजनहरु आएका मेला ब्यवस्थावन समिति सदस्य रामनेबास यादबले बताए ।
भारत र जिल्लाकै डेढ सय बढी साधु, सन्त र जोगी मेलामा आएका छन् । मन्दिर वरिपरि र नदी किनारमा रातभर साधु जोगी जाग्राम बसेर ढोल, खैजडी, झाँज र हारमुनियम बजाएर भजन, कीर्तन र चुड्का भन्दै बसेका थिए ।
त्रेता युगमा भगवान राम वनबास जाने क्रममा रामघाट आइपुग्दा उनलाई पानी प्यास लागे पछि अर्जुनले वाण हानेर पानी निकालेको धार्मिक किम्बदन्ती रहेको अवधि लोककला विशेषज्ञ राघवेंद्र श्रीवास्तवले बताए ।
भगवान रामले पानी पिएको हुदा यस ठाउको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको बुढापाकाको भनाइ छ । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्दै आएका छन् । गौदान गरे मनोकाक्षा पूरा हुने जनविश्वास रहेको छ ।