स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सिद्धार्थ क्याम्पसको पहलमा संकलन गरिएको मृगौला पिडितको उपचारार्थ सहयोग रकम हस्तान्त्रण गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ कप्टैया निवासी २० बर्षिय रुपा सिंजालीको दुईवटै मृगौला फेल भएका कारण उपचारमा समस्या भएकोले स्ववियुले नेतृत्व गरि संकलन गरेको रकम एक कार्यक्रमको आयोजना गरि उनका बुवा झविलाल सिंजालीलाई रु १५ हजार ५ सय रकम स्ववियु अध्यक्ष सुशिल खत्री, क्याम्पस प्रमुख खेमराज शर्माले हस्तान्त्रण गरेका हुन् । पिडित युवती सिंजाली जनता माविमा कक्षा १२ मा अध्ययनरत छिन् ।

उनको बैशाख देखि दुवै मृगौला फेल भएका कारण प्रत्यारोपण गर्नका लागि १२ देखि २० लाख सम्म लाग्ने हुँदा सानो सहयोगले उनको ज्यान बच्न सक्छ भन्ने उद्देश्यले उक्त सहयोग रकम संकलन गरिएको स्ववियु अध्यक्ष सुशिल खत्रीले बताए । उनले सम्पुर्णलाई सहयोगको लागि अनुरोध गर्दै मृगौला पिडित युवतीको शिघ्र स्वास्थ्य लाभको कामना गरे । अध्यक्ष खत्रीले अपांग, अस्हाय, गरिबहरुको लागि घाउमा मलम लगाउन स्ववियु सदैव तयार रहेको बताए ।
पिडित युवतीको अहिले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डायलासिस भईरहेको छ । पिडितका बुवा झविलाल सिंजालीले सहयोग रकम ग्रहण गर्दै सहयोग गर्ने विद्यार्थी तथा स्ववियु परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । उनले अहिले सम्म करिव १ लाख २० हजार रकम संकलन भएको समेत बताएका थिए । क्याम्पस प्रमुख खेमराज शर्माले यस्ता खालका सहयोग गर्ने अवसर प्रदान भएको भन्दै पिडितको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । सहयोग रकम हस्तान्त्रण कार्यक्रममा पिडितका बुवा, आफन्त, स्वववियु अध्यक्ष खत्री, क्याम्पस प्रमुख खेमराज शर्मा लगायत प्राध्यापक, लियो क्लव अफ कपिलवस्तुका सचिव सागर बन्जाडे लगायत विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।







