सैनामैना नगरपालिका र प्रदेश नं ५ को भौतिक पुर्वाधार विकास मन्त्रालय बिच खानेपानीको शुद्धताका लागि वास योजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सैनामैना क्षेत्रको खानेपानी सरसफाई तथा स्वच्छताका लागि प्रदेश नं ५ बुटवलले तयार पारेको पालिकास्तरीय वास योजना तर्जुमा निर्देशिकामा आधारित रहेर नगर र मन्त्रालय बिच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ । पालिकाको तर्फबाट नगर प्रमुख चित्र बहादुर कार्की र प्रदेश सरकारका तर्फबाट मन्त्रालयका कार्यालय सचिव नुर मुहम्मद खाँले हस्ताक्षर गरेका थिए । यसैगरी रोहबरमा नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी र मन्त्रालयका सिडिई धुब्र धितालले हस्ताक्षर गरेका हुन ।
समझदारी पत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले पालिकास्तरमा विद्यमान खानेपानी तथा सरसफाई योजनाहरुको विवरण संकलन गर्नुका साथै घरधुरीहरुको सर्वेक्षण गरी विद्यमान खानेपानी,सरसफाई तथा स्वच्छताको सुविधास्तर वर्गीकरण गर्नु नै यो योजनाको प्रमुख उद्धेश्य रहेको बताए । उनले खानेपानीको उपलब्धता के कस्तो छ ? पानीको शुद्धता र सरसफाई सम्बन्धि जनचेतना फैलाउन यो योजनाले महत्वपुर्ण भुमिका खेल्ने बताए । सैनामैना नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउने योजना अनुसार प्रदेशको भौतिक तथा पुर्वाधार मन्त्रालय अन्र्तगतको वास कार्यक्रम सँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए ।
मन्त्रालयका सचिव नुर मुहम्मद खाँले मन्त्रालयमा रहने परामर्शदाता र पालिकास्तरमा रहने वास संयोजक छनोट तथा परिचालन गर्ने र पालिकास्तरमा संचालन गर्ने कार्यशाला गोष्ठीको लागि प्रविधि तथा आर्थिक सहयोग गर्ने लगायतका जिम्मेवारी प्रदेश सरकारको रहेको उल्लेख गरे । साथै अनुगमन तथा मुल्याङ्कन निरन्तर रुपमा गरिने मुहम्मदले बताए । समझदारी पत्रमा उद्धेश्य, समझदारी पत्रको कार्यक्षेत्र, भौतिक पुर्वाधार विकास मन्त्रालयको भुमिका तथा जिम्मेवारी, पालिकाको भुमिका तथा जिम्मेवारी, आर्थिक व्यवस्थापन, वास योजना तयारीको चरण तथा गर्नुपर्ने कार्यहरु,पालिका स्तरीय योजना तर्जुमा लगायतका बुँदाहरु समावेश रहेका छन् । समझदारी पत्रको समयावद्यि २०७७ जेठ ३२ गते सकिनेछ ।