काठमाडौँ । यस वर्षको शरदकालीन आरोहणमा ६ हजार मिटर अग्ला पाँचवटा ‘भर्जिन’ हिमालको चुचुरामा आरोही पुगेका छन् । गोरखाको मानसिरी हिमशृंखलामा पर्ने ६ हजार ६ सय २० मिटर उचाइको पाङपोचे (प्रथम) तथा ६ हजार ५ सय ४ मिटर उचाइको पाङपोचे (दोस्रो), खुम्बु क्षेत्रको महालंगुर हिमशृंखलाको ६ हजार ८ सय ३३ मिटर उचाइको हाङकु चुली तथा सुरा पिक भनिने ६ हजार ७ सय ६४ मिटर उचाइको हांगु र दोलखाको रोलवालिङ क्षेत्रमा पर्ने ६ हजार ६ सय ५९ मिटर उचाइको लिंकु चुली ९दोस्रो० को आरोहण विदेशीले गरेको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार, तीन जना जर्जियाली आरोहीको समूहले असोजमा पश्चिम क्षेत्रमा पर्ने पाङपोचे ९प्रथम० र पाङपोचे ९दोस्रो० आरोहण गरेको थियो । सातुरी एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक ऋषि भण्डारीका अनुसार उनीहरूले ४५ दिनमा दुवै चुचुरो आरोहण गरेका थिए । सातुरीले हरेक वर्ष नेपालमा आरोहण नभएका हिमचुचुरामा विदेशी आरोहीलाई लगेर बाटो खोल्ने गरेको छ । यी हिमालका लागि प्रतिव्यक्ति २ सय डलर सलामी ९आरोहण० दस्तुर लिइएको थियो ।
रोलवालिङ क्षेत्रमा पर्ने लिंकु चुली ९दोस्रो० मा चार मुलुकका ७ जनाले पहिलोपटक आरोहण गरेका थिए । शेर्पा सेफर्ड्स प्रालिका सेल्स एक्जुकेटिभ दिनेश तामाङका अनुसार, मध्य कात्तिकमा चीन, नेपाल, क्यानडा, पेरु र मेक्सिकोका आरोहीले यो हिमाल आरोहण गरेका थिए । अन्य दुई हिमालको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
दिवंगत भूगोलविद् हर्क गुरुङको अध्ययनअनुसार नेपालमा १ हजार ३ सय १० वटा हिमचुचुरा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार अब ७६ वटा हिमाल मात्रै आरोहण नभएकाको सूचीमा छन् ।
शरदकालीन आरोहणका लागि विभागले यसपटक ५३ वटा हिमालमा अनुमति दिएको थियो । बुधबारसम्म १ सय ६५ आरोहण दलका १२ सय १० सदस्यले अनुमति पाएका हुन् । जसमा ६२ मुलुकका ९ सय ५३ पुरुष र २ सय ५७ महिला थिए । विभागले शरदकालीन आरोहणका लागि ६ करोड ५१ लाख सलामी दस्तुर संकलन गरेको छ । यसपटक सबभन्दा धेरै अमादब्लम हिमालमा ३१ आरोहण दलका ३ सय ४७ सदस्य पुगेका छन् । दोस्रो स्थानमा मनास्लु छ जसमा २७ आरोहण दलका २ सय ६४ सदस्य पुगे । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।