गृहपृष्ठ Featured देउवाको गम्भीर आरोपः ‘प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नक्सा छाप्यो’

देउवाको गम्भीर आरोपः ‘प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नक्सा छाप्यो’

प्रकाशित मिति:

काठमाडौं / चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् । देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् । ‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने ।

देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि टिप्पणी गरे । ‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन्? कहाँ छ त्यो राष्ट्रवाद अहिले? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने । ओलीको राष्ट्रवाद अब जनताले नपत्याउने देउवाले बताए । भारतले भूमि मिच्दा सरकार कानमा तेल हालेर बसेको उनले बताए । ‘कालापानी नेपालको होइन? लिपुलेक नेपालको होइन? आज दुवै भारतलाई बुझाएर सबैभन्दा राष्ट्रघात गरेको छ । नेपालको एक इन्च जमिन पनि लान दिनु हुँदैन । चुनाव जित्न राष्ट्रवादको खोल ओढेर जनताका आँखामा छारो हालेका छन् ओलीले । यी कुनै राष्ट्रवादी नै होइनन् । लम्पसारवादी हुन्’ उनले भने । सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी देउवाको छ ।

आफू प्रधानमन्त्री भएका बेला महाकाली सन्धि भएको र सन्धीले महाकालीलाई सीमा नदी मानेको दाबी गरे । ‘म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो । महाकाली सन्धीमा महाकाली नदीलाई सीमा नदी भनिएको छ, पानी आधा–आधा,’ उनले भने । हो, महाकाली सन्धि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै वेला ०५२ सालमा भएको हो तर, सन्धीले महाकालीलाई सीमा नदी होइन, ‘अधिकांश भागमा सीमा नदी’ भनिएको छ । महाकाली केही ठाउँमा नेपालभित्र, केही ठाउँमा भारतभित्र पर्छ र अधिकांश ठाउँमा सीमानामै पर्छ भन्ने अर्थ लाग्ने जानकारहरू बताउँछन् ।

त्यस्तै देउवाले भनेजस्तो सो सन्धिमा महाकालीको पानी भारत र नेपाललाई आधा–आधा हुने भन्ने उल्लेख छैन । बरु, सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ । जबकि महाकाली नदीमा हिउँदमा पनि १० हजार क्युसेक पानी बग्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार