१५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।
आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।
निर्वाचित भएको घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् । ‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् ।
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
मत गणना सकिए लगतै कांग्रेस उम्मेदवार पौडेलले भट्टराईलाई बधाई दिएका थिए । उनले राम्रोसँग काम गर्न समेत आग्रह गरे ।