भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । मुम्बईमा मंगलबार अबेर सम्पन्न पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले हरायो । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
भारतले दिएको दुई सय ५६ रनको विजय लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले सानदार प्रदर्शन गरे । दुवैले अविजित शतक रन बनाए । वार्नरले एक सय २८ र फिन्चले एक सय १० रन बनाएका थिए । एकदिवसीयमा करियरको १८औं शतक बनाएका वार्नरले एक सय १२ बलमा १७ चौका र तीन छक्का हानेका थिए । फिन्चले एक सय १४ बलको समना गर्दै १३ चौका र तीन छक्का हाने ।
वार्नर र फिन्चले बनाएको २ सय ५८ रन कुनै टोलीले कुनै पनि विकेटका लागि भारतविरुद्ध बनाएको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि स्टीभ स्मिथ र जर्ज बेली सन् २०१६ मा तेस्रो विकेटका लागि २ सय ४२ रन बनाएका थिए ।
एकदिवसीय खेलमा बिना विकेट गुमाएर यो दोस्रो ठूलो रन चेज हो। यसअघि २०१७ मा दक्षिण अफ्रीकाका हाशिम अमला र क्विंटन डीकॉकले बांग्लादेशविरुद्ध २७९ रनको लक्ष्य हासिल गरेका थिए ।
स्ट्रेलियाले भारतलाई १० विकेटको अन्तरले हराएको पनि यो पहिलो अवसर हो । भारत १५ वर्षपछि १० विकेटले पराजित भएको हो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा सवै विकेट गुमाएर दुई सय ५५ रन बनाएको थियो । भारतका शिखर धवनले ७४ रन बनाए । लोकेश राहुलले ४७, ऋषव पन्तले २८, रबिन्द्र जडेजाले २५, कुलदिप यादबले १७ र कप्तान विराट कोहलीले १६ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । प्याट कमिन्स र केन रिचर्ड्सनले दुई दुई विकेट हात पारे । एडम जम्पा र एस्टन अगरले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार राजकोटमा हुनेछ ।