नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुले सुचना प्रविधि विधेयक सच्याउनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
तरुण दलको केन्द्रिय निर्देशन अनुरुप तरुण दलका जिल्ला सभापति खोम बहादुर सिंह ठकुरी (शक्ति) नेतृत्वको तरुणहरुको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी मनोज कुमार सैनीलाई बिधेयकको बिरोधमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा नेपालको संबिधानको मौलिक हकका धारा र उपधाराहरुको मर्म बिपरित सरकारले ल्याउन लागेको बिधेयकले नागरिकका अधिकार कुन्ठित गर्ने बताईएको छ । सुचना प्रबिधी सम्बन्धि बिधेयक तत्काल परिमार्जन गरि लोकतान्त्रिक सिद्धान्त र संबिधानको मर्म अनुसार ल्याउनु पर्ने माग गर्दैै माग अनुरुप परिमार्जन नगरिए आन्दोलनमा जाने ज्ञापनपत्रमा उल्लेख छ ।
तरुणहरुको टोलीमा जिल्ला पार्टी तरुण बिभाग प्रमुख जमशेद खाँ, क्षेत्रिय सभापति राजेश उपाध्याय, तरुण नेता तिलक थापा, युवा नेता वजिह अरसद, तरुण बिद्यार्थी नेता चन्द्रकान्त पोख्रेल लगायतको सहभागीता रहेको थियो । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको मर्म बिपरित नागरिक अधिकारलाई कुन्ठित गर्ने गरि ल्याउन थालिएको बिधेयकको बिरोधमा तरुण दलले ज्ञापन दिएको जिल्ला सभापति खोम बहादुर सिंह ठकुरी (शक्ति) ले बताए ।
यस अघि नेपाली काँग्रेस कपिलवस्तुले केन्द्रिय निर्देशन अनुसार ज्ञापनपत्र बुझाएर बिरोध प्रदर्शन गरेको थियो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले निमित्त प्रमुख जिल्ला अधिकारी मनोज कुमार सैनी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बिधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्दै नागरिक अधिकारको हनन गर्ने उल्लेख छ ।








