गृहपृष्ठ Featured हात्तीपाइले रोग विरुद्ध निर्माण व्यवसायी तथा श्रमिकहरुका लागी नगर स्तरीय अभिमुखिकरण

हात्तीपाइले रोग विरुद्ध निर्माण व्यवसायी तथा श्रमिकहरुका लागी नगर स्तरीय अभिमुखिकरण

बाणगंगा नगरपालिकाले हात्तीपाइले रोग विरुद्ध निर्माण व्यवसायी तथा श्रमिकहरुका लागी नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हात्तीपाइले रोग विरुद्ध आम औषधी सेवन अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा बाणगंगा नगरपालिका भित्रका निर्माण व्यवसायीलाई सहभागिता गराई बाणगंगा नगरपालिका स्वास्थ्य अधिकृत भक्ति पाण्डेद्धारा प्रशिक्षण दिइएको थियो । स्वास्थ्य अधिकृत पाण्डेले हात्तीपाईले रोगका लक्षण तथा बच्ने उपायबारे स्पष्ट पार्नुभएको थियो ।

गतवर्ष नगरपालिका भित्र ६२ हजार व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईएको र यस वर्ष ८० हजारलाई औषधी खुवाईने लक्ष्य रहेको स्वास्थ्य अधिकृत भक्ति पाण्डेले जानकारी दिनुभयो । समान्यतया आम सर्वसाधरणमा हात्तीपाईले रोग विरुद्धको औषधी खाई सकेपछि टाउको दुख्ने,निध लाग्ने तथा विभिन्न समस्या आईपर्छ भन्ने कुरा गलत भएको र केही व्यक्तिले औषधी नखाने गरेको पनि पाइएकाले त्यस्तो प्रवृति त्याग्न सबैलाई आग्रह पाण्डेले गर्नुभयो ।

११ औं पटकसम्म औषधी खुवाउदा पनि हात्ती पाइले रोगको संक्रमण बढि देखिएपछि अभियान यसवर्ष पनि संचालन हुने भएको पाण्डेले बताउनुभयो । नेपाल सरकारको हात्ती पाइले रोग निवारण गर्ने लक्ष्य कपिलवस्तु सहित १३ जिल्लामा पुरा हुन नसकेपछि औषधी खुवाउने अभियानलाई निरन्तरता दिनुपरेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । राष्ट्रिय हात्ती पाइले रोग निवारण अभियान २०७६ को जिल्ला स्तरीय समन्वय समिति कपिलवस्तुको वैठकले हात्ती पाइले रोग विरुद्ध औषधी खुवाउने अभियानलाई प्रभावकारी बनाउने बताएको छ ।

सामान्य तय छैठौं पटक सम्म नियमित औषधी खुवाएपछि हात्तीपाइले रोगको संक्रमण दर घट्नु पर्ने हो, तर घटेन । लामखुट्टेको टोकाईबाट सर्ने माइक्रो फाइलेरिया १ प्रतिशत भन्दा कममा झार्ने लक्ष्य थियो तर कपिलवस्तुमा नमुना सर्वेमा यो दर १२ दशमलब ५ प्रतिशत रहेपछि अभियान असफल भएको हो । २०७५ सालमा वाणगंगा, कृष्णनगर र महाराजगंज नगरपालिकामा हात्ती पाइले रोगको नमुना सर्वेक्षण गरिएको थियो ।

कपिलवस्तु जिल्लामा माघ २५ गते देखि २ वर्षदेखि ७० वर्ष उमेरका व्यक्तिलाई हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने अभियान संचालन हुदैछ । जसअन्तर्गत बाणगंगा नगरपालिकामा माघ २५ गतेदेखी प्रभावकारी ढङ्गले हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने बताइएको छ ।

सम्बन्धित् समाचार