बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मातहतमा रहेका व्यवसायीक सटरमा डोजर चलेको छ । पटक पटक सूचना प्रकाशित गरी सटर खाली गर्न व्यवसायीलाई आग्रह गरेपनि उनीहरुले अटेर गरेका कारण आज बिहान डोजर चलाइएर भत्काएको अस्पताल स्रोतले जनाएको छ । प्रदेश सरकारले अस्पतालको विकाससँगै गौरबको आयोजना अघि बढाउन डोजर चलाएको जनाएको छ ।
अस्पतालमा ७३ वटा व्यवसायीक सटरहरु रहेको र जिल्ला अदालत रुपन्देहीले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटममा पनि ब्यावसायीहरूले सटर खालि गर्न नमानेपछि डोजर चलाइएको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानाकारी दिनुभयो । भट्टराइले अदालतको आदेश अवज्ञा गरेकाले डोजर चलाउनु परेको बताउनुभयो ।
अस्पतालको चरणबद्ध बिकासका लागि अस्पतालका सटरहरु खाली गर्ने अस्पतालको योजना अनुसार सटर भत्काईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन राजेन्द्र खनालले जानकारी दिए ।
पाँच वर्षका लागि सम्झौता गरेको तीन महिनामै प्रदेश सरकारले अस्पतालका सटर खाली गर्न भनेपछि व्यवसायीले करार सम्झौता परिपालनाको माग गर्दै अदालतको ढोका ढकढकाएका थिए । जिल्ला अदालतले व्यवसायीको विपक्षमा फैसला गरेपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ ।
अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर २६ सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काएको छ ।अस्पतालमा ७३ वटा सटरमध्ये दुई वटा साझा (सरकारी) औषधि पसल बाहेक अन्य सटरहरुमा ६३ करोड रुपैयाँ लगानी भएको व्यवसायीहरुको दावी छ ।










