बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै कांग्रेसले सडक र संसदमा विरोध गर्न थालेको छ । सरकार अन्धो भएको भन्दै सही गलत छुट्याउन नसकेको दावी गर्दै तरुणदल कपिलवस्तुले समेत विरोध प्रर्दशन गरेको छ । नेपाल तरुण दल केन्द्रिय कार्य समितिको परिपत्र अनुसार नेपाल तरुण दल कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि बिरोध सभा गरेको हो ।
नेपाल तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरीको संयोजकत्वमा भएको विरोध प्रदर्शन जिल्ला पार्टी कार्यालय तौलिहवाको जिल्ला प्रशासन कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । आइतबार कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलवस्तुले नेता गच्छदारमाथि चलाएको मुद्दा फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन गरेको हो ।
नेपाल तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरीले सरकारले सबै दललाई एउटै आँखाले हेर्न नसकेको भन्दै कंग्रेस माथि घात गरेको दावी गरे ।
नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले कोणसभामा बोल्दै बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै दुःख व्यक्त गरे ।
नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय सह महामन्त्री प्रकाश घिमिरेले अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही कम्युनिष्ट नेताहरूलाई बचाउ गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।
यसैबीच महिला संघ केन्द्रीय सदस्य सुमित्रा शर्मा, नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य विष्णु थापा लगायतले सरकारले गरेको यस्तो अन्याय कुनै हालतमा सहेर नबस्ने र यसको विरोधमा अझै भिन्न तरिकाले जागरुक हुने बताए । विरोध प्रर्दशनमा नेपाली कंग्रेसका हजारौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।