गृहपृष्ठ Featured चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु

चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु

प्रकाशित मिति:

चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु गरिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । उनीहरूलाई राखिएको सुरक्षित स्थान क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीले आइतबार सबैको र्‍याल र खकारको नमुना संकलन गरेका छन् । बुधबार मात्रै त्यसको रिपोर्ट आउनेछ ।

सरकारले चीनको हुबेई प्रान्तको वुहानसहितका विभिन्न सहरमा रहेका एक सय ७५ नेपालीलाई नेपाल एयरलाइन्सको जहाजबाट आइतबार बिहान काठमाडौं ल्याएको थियो । विमानस्थलमा उनीहरू सबैको शरीरको तापक्रम मापन गरिएको थियो । त्यसमा सबै स्वस्थ देखिएका छन् । ज्वरो देखिए क्वारेन्टाइनको सट्टा अस्पताल लगेर निगरानीमा राख्ने सरकारको योजना थियो ।

विमानस्थलबाट उनीहरूलाई प्रहरी स्कर्टिङमा पाँचवटा गाडीमा राखेर क्वारेन्टाइन बनाइएको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्‍याइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार संकलित नमुना सोमबारदेखि परीक्षण गरिनेछ । ‘नेपाल फर्किएका एक सय ७५ जनाकै र्‍याल र खकार संकलन गरिएको छ । रिपोर्ट आउन कम्तीमा दुई दिन अर्थात् बुधबारसम्म पर्खिनुपर्छ,’ उनले भनिन् ।

स्वदेश ल्याइएका नेपालीको २४ घन्टाभित्र पहिलो र १४औँ दिनमा अन्तिम परीक्षण गर्ने सरकारको योजना छ । परीक्षणमा समय लाग्ने हुँदा क्वारेन्टाइनमा बस्नेको समयावधि पनि लम्बिने भएको छ । यसअघि १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको थियो । तर, अब तीन दिन लम्बिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए ।

सम्बन्धित् समाचार