गृहपृष्ठ Featured चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु

चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु

चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु गरिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । उनीहरूलाई राखिएको सुरक्षित स्थान क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीले आइतबार सबैको र्‍याल र खकारको नमुना संकलन गरेका छन् । बुधबार मात्रै त्यसको रिपोर्ट आउनेछ ।

सरकारले चीनको हुबेई प्रान्तको वुहानसहितका विभिन्न सहरमा रहेका एक सय ७५ नेपालीलाई नेपाल एयरलाइन्सको जहाजबाट आइतबार बिहान काठमाडौं ल्याएको थियो । विमानस्थलमा उनीहरू सबैको शरीरको तापक्रम मापन गरिएको थियो । त्यसमा सबै स्वस्थ देखिएका छन् । ज्वरो देखिए क्वारेन्टाइनको सट्टा अस्पताल लगेर निगरानीमा राख्ने सरकारको योजना थियो ।

विमानस्थलबाट उनीहरूलाई प्रहरी स्कर्टिङमा पाँचवटा गाडीमा राखेर क्वारेन्टाइन बनाइएको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्‍याइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार संकलित नमुना सोमबारदेखि परीक्षण गरिनेछ । ‘नेपाल फर्किएका एक सय ७५ जनाकै र्‍याल र खकार संकलन गरिएको छ । रिपोर्ट आउन कम्तीमा दुई दिन अर्थात् बुधबारसम्म पर्खिनुपर्छ,’ उनले भनिन् ।

स्वदेश ल्याइएका नेपालीको २४ घन्टाभित्र पहिलो र १४औँ दिनमा अन्तिम परीक्षण गर्ने सरकारको योजना छ । परीक्षणमा समय लाग्ने हुँदा क्वारेन्टाइनमा बस्नेको समयावधि पनि लम्बिने भएको छ । यसअघि १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको थियो । तर, अब तीन दिन लम्बिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए ।

सम्बन्धित् समाचार