बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले एक कार्यक्रमका बिच सीप नभएको मान्छे र दिप नभएको घरको अर्थ नहुने बताउनु भएको छ । आज जिल्ला घरेलु तथा साना उद्योग कार्यालय,कपिलवस्तुको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा बाणगंगा नगरपालिका वार्ड नं ८ मा उद्यमशिलता विकास तालिम समापन कार्यक्रममा सो धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक पार्न सबै जना उद्यमी बनी नमुना गाउँ बनाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि तथा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले महिलाहरुमा आत्मवल र कार्यक्रम प्रतिको लगाव भएका उनीहरु सफल उद्यमी बन्ने कुरा बताएका छन् । साथै परिवारका एक जना सदस्यमा मात्र निर्भर हुँदा कुनै कारणबशः उ असक्त र असहाय भएमा परिवारमा बिचल्ली आउने हुँदा परिवारका सबै सदस्य उत्पादनमा जोडिनु पर्ने बताए । मन्तव्यकै क्रममा बाणगंगा नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ५ का वडाध्यक्ष भिष्मराज भुसालले महिला तथा गृहिणीहरुले घर व्यवहार चलाउँदा वा कुनै काम गर्दा घरबाट माग्न नपर्ने अवस्थाको सृजना गरी उनीहरु व्यवसायका माध्यमबाट आत्मनिर्भर हुनु पर्ने जिकिर गरे ।
कार्यक्रममा नगरस्तरीय लघु उद्यम विकास समितिका अध्यक्ष तथा बाणगंगा नगरपालिका वार्ड नं ८ का वडाध्यक्ष गुणनिधि भुसालले गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालन गर्न बाणगंगा नगरपालिकाले वार्ड नं ८ छनौट गरेकोमा धन्यवाद दिदै तालिम उपलब्धीमुलक र सार्थक भएको बताए । यो नगरपालिकाकै लक्ष्य अनुसारको कार्यक्रम रहेको हुनाले अव छनौट भई तालिम लिएका सहभागीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उनको भनाई छ । कार्यक्रममा तालिममा सहभागी शान्ता न्यौपानेले तालिम अत्यन्त उपयोगी रहेको यसबाट व्यवसाय कसरी छनौट गर्ने तरिका , बजार सम्भाव्यता, स्थानिय श्रोत साधन पहिचान गर्ने तरिकाका बारेमा जानकारी पाइएको बताईन ।
छनौट भएका सहभागीहरुलाई मागमा आधारित सीपमुलक तालिम प्रदान गरी उनीहरुलाई छोटो, मध्यम र लामो अवधीको तालिम प्रदान गरिनेछ । तालिमका सहभागीहरुले ढाकाको झोला बुनाई, सिलाइकटाइ, बाख्रापालन, व्युटिपार्लर,डल कुशन तालिम माग गरेका छन् । ८ दिन सम्म संचालन भएको सो तालिमको सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका उद्यम विकास सहजकर्ता यज्ञ बहादुर चन्द्र र डिल्ली हमालले गरेका थिए ।
कार्यक्रम नगर स्तरी लघु उद्यम विकास समितिका अध्यक्ष गुणनिधि भुसालको अध्यक्ष, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आथित्यता,बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी को बिशिष्ट आथित्यता र सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक थानेश्वर अधिकारीले गरेका थिए । सो कार्यक्रमका ४० जना सम्भावित उद्यमीहरुको सहभागिता रहेको छ ।