काठमाडौँ, ९ फागुन । दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ । त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीबार सार्वजनिक भयो । कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भएका छन् ।
ओली सरकारमा मन्त्रीहरू भित्रिनु, बाहिरिनु नौलो घटना होइन तर बाँस्कोटाको बहिर्गमनको प्रकृति अन्यभन्दा भिन्न र अर्थपूर्ण छ । पटकपटक ‘भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्दै आएका प्रधानमन्त्री ओलीका प्रियपात्र बाँस्कोटा नै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको करिब ७० करोड रुपैयाँ ‘कमिसनको डिल’ गरेको प्रकरणमा जोडिएपछि बाहिरिएका हुन् । यो प्रकरणले प्रधानमन्त्रीलाई नै अप्ठेरामा पारेको ओलीनिकट एक नेताले बताए । ‘कमिसनको कुरा पुष्टि होला, नहोला तर प्रधानमन्त्रीका सबैभन्दा निकट व्यक्ति कस्ता रहेछन् भन्ने कुरा एक्सपोज भएको छ,’ उनले भने ।
बाँस्कोटा ओलीका कति नजिक हुन् भन्ने बुझ्न तीन दिनअघि धुलिखेलमा आयोजित एक कार्यक्रममा गरेको सार्वजनिक प्रशंसालाई सुने पुग्छ । ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो, प्रतिभा जन्माउने जिल्ला हो, यो कुरा क्रमशः प्रकट हुँदै गएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कातिर अरू सबै जस्तो देखिएको छ । सरकारको विरोध गर्नुपर्यो भने गोकुल बाँस्कोटातिर हेरेर चुप लाग्छन् ।’
औधि प्रशंसा गरेको तीन दिनपछि बाँस्कोटा पदीय आचरणविपरीत कमिसनको डिल गरेको अडियोका कारण बाहिरिँदा ओलीलाई झट्का लागेको छ । नेकपाका एक नेता बाँस्कोटाका कारण ओलीलाई परेको चोट यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोप लाग्दा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लागेको झट्कासँग तुलना गर्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।