गृहपृष्ठ Featured स्थानीय तहले लगाएको नदीजन्य पदार्थ दोहनको नियमन र नियन्त्रणमा महासंघको ध्यानाकर्षण

स्थानीय तहले लगाएको नदीजन्य पदार्थ दोहनको नियमन र नियन्त्रणमा महासंघको ध्यानाकर्षण

प्रकाशित मिति:

केहीदिन यता कपिलवस्तुका विभिन्न स्थानीय तहले लगाएको नदीनालाको ठेक्कामा नियम विपरित भएको भन्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले प्रेष विज्ञप्ति मार्फत ठेकेदारले मनपरी ढंगले नदीजन्य पदार्थ ढुंगा गिट्टी र बालुवाको दोहन गरिरहेको प्रति खेद प्रकट गरेको छ । विज्ञप्तिमा जिल्लाको वाणगंगा, कपिलवस्तु, बुद्धभूमि, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका अन्तरगत स्थानीय खोलानालामा अनियमित रुपले नदीजन्य पदार्थको निकासी भइरहदा स्थानीय सरकार, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु बेखबर बनेको छ । नदीजन्य पदार्थको अनियन्त्रित निकासीले हुनसक्ने विपत्ती प्रति सचेत रहन र प्राकृतिक श्रोत साधन र वातावरण संरक्षणमा स्थानीय सरकार गम्भिर हुन पनि ध्यानाकर्षण गराउदछौं भनिएको छ ।

त्यस्तै ज्ञापन पत्रमा स्थानीय सरकारले नदीनालामा लगाएको ठेक्काको शर्त र सम्झौता विपरित ठेकेदारहरुले तोकेको दररेट भन्दा बढि रकम संकलन गर्नु, चोरी निकासी, खोलानालामा जेसिभि मेसिनको प्रयोग, अनियन्त्रित डम्पिङ्ग र ईआईए भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको र सम्झौता विपरित ठेकेदारले गरेका त्यस्ता गैरकानुनी कार्यप्रति जनप्रतिनिधी मुकदर्शक बन्नु जनताको उपहास भएको पनि उल्लेख छ ।

साथै पछिल्लो समय खोलानालामा पुगी विभिन्न वहानामा पत्रकार भन्दै ठेकेदार तथा तिनका कर्मचारीसंग रकम माग गरेको भन्ने सुन्नमा आएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विभिन्न बहानामा पत्रकारले रकम माग गरेको भए सम्वन्धित निकायलाई महासंघमा उजुरी गर्न र गलत कार्य गर्न जो कसैलाई पनि छुट नभएको तथ्यमा आधारित भएर रिपोटिङ्ग गर्न समेत आग्रह गरिएको छ । ज्ञापन पत्रमा पत्रकारिता पेशा प्रति आँच आउने गरी बदनियत ढंगले ठेकेदार पक्ष तथा पत्रकारबाट हुनसक्ने गतिविधी प्रति सम्पूर्ण वर्ग सचेत र सजग रहन समेत आग्रह गरिएको छ । पत्रकार आचार संहितालाई पूर्ण रुपमा पालना गर्दै मर्यादित पत्रकारिता गर्न नेपाल पत्रकार महासंघ कपिलवस्तु सवैमा अपिल समेत गर्दछौँ, महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालको हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित् समाचार