नेपाल मगर संघ ईकाई समिती वाणगंगा १० ले फागुन १५ गते अर्थात भोलिको ३८ औँ राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समितीको संरक्षक तथा ईकाई समितिको आयोजनामा वाणगंगा १० धरमपुरमा मगर दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा विशेष सांस्कृतिक कार्यक्रम हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । ३८ औँ मगर दिवस भब्य रुपले मनाऔँ, ५ नम्बर प्रदेशलाई मगरात पहिचान सहितको नामाकरण गर्ने अभियानमा लागौँ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मगर समुदायको जातीय पहिचान, भेषभुषा, परम्परा तथा संस्कृतिको जगेर्ना गर्ने र प्रदेशको नामाकरणमा मगर समुदायको पहिचान झल्किने गरि गर्नका लागि दवाव दिन कार्यक्रमको आयोजना गरिएको मगर संघ केन्द्रिय सदस्य लक्ष्मी सारुले बताईन् । पत्रकार सम्मेलनको प्रमुख अतिथि समेत रहेकी सारुले जातीय पहिचानका लागि सम्बन्धित निकायमा दवाव पुग्ने गरि समाचार सम्पे्रषण गर्न सञ्चारकर्मीलाई आग्रह गरिन् ।
नेपाल मगर संघ प्रदेश ५ सदस्य कुल बहादुर सोमैले जातीय पहिचान सहितको प्रदेशको नामाकरण गर्नका लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । कार्यक्रमका विशिष्ठ अतिथि सामैले देशका हरेक अवस्थामा मगर समुदायको सक्रिय सहभागिता रहेकाले पनि मगर समुदायको पहिचान संरक्षण गर्ने दायित्व सरकारको रहेको बताए । उनले जिल्लाका सबै स्थानिय तहमा कार्यक्रम हुने जानकारी दिए ।
त्यस्तै मगर संघ जिल्ला संयोजक मोहन सिंजालि, जिल्ला सल्लाहकार कृष्ण बहादुर सोमैले नेपाल मगर संघको जन्म तथा गठन प्रक्रियाको बारेमा स्पष्ट पारेका थिए ।
आयोजक संस्था ईकाई समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक खुम बहादुर रानाले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिँदै उपस्थित हुन निमन्त्रणा गरेका थिए । मगर संघ वाणगंगा नगर अध्यक्ष पिताम्बर सिंजालीको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा विभिन्न सञ्चार माध्यमका क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।










