मायादेवी गाउँपालिका वडा नं. ३ को आयोजना तथा कपिलवस्तुकै सुविधा सम्पन्न सि एण्ड सी अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । विभिन्न ग्रामिण भेगका उपचार नपाएका स्थानीयहरुलाई सि एण्ड सी अस्पतालले निःशुल्क उपचार सेवा तथा औषधी प्रदान गरिरहेको छ । सोहि क्रममा मायादेवी ३ मा भएको स्वास्थ्य शिविरमा पनि सि एण्ड सी ले ५ सय १२ जनाको निःुल्क चेक जाँच गर्नुका साथै २० हजार बराबरको निःशुल्क औषधी प्रदान गरेको अस्पतालका प्रबन्धक गोपाल घिमिरेले जानकारी दिए ।
१ सय ९३ जना लाई महिला सम्बन्धी, ३ सय ३९ जनालाई फिजिसियन, १ सय ५० जनालाई ल्याव टेस्ट, ५० जनालाई दाँत तथा मुख सम्बन्धी सेवा दिनुका साथै ७० जनामा सुगरको उच्च जोखिम देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य शिविरमा अति गरिव, विपन्न तथा जिवनमा कहिल्लै पनि सुगर रोगको चेकजाँच नगरेका स्थानीयहरुको चेकजाँच गर्दा सुगरको उच्च जोखिम देखिएको, महिला सम्बन्धी सेवा, पायल्स, निमोनिया, दम, हातखुट्टा झमझमाउने, नशा तथा बाथ रोग एवम् विभिन्न रोगहरुको चेकजाँच तथा औषधी प्रदान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत कृष्ण पोख्रेलले जानकारी दिए । आफ्नै गाउँमा स्वास्थ्य सेवा पाउँदा स्थानीयहरुले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल मुसलवानले ग्रामिण समुदायका स्थानीयहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिएकोमा वडा कार्यालय तथा सि एण्ड सी अस्पताललाई धन्यवाद व्यक्त गरे । उनले सरकारी अस्पताले गर्ने काम मध्ये सि एण्ड सी अस्पतालले गरेको भन्दै राज्यले पनि अस्पतालाई मुल्यांकन गर्ने बताए ।
वडा नं. ३ का अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षता, सांसद मुसलवानको प्रमुख आतिथ्यता, बजरंगी प्रसाद कुर्मी, सि एण्ड सी अस्पतालका प्रबन्धक गोपाल घिमिरे, जनसम्पर्क अधिकृत कृष्ण प्रसाद पोख्रेलको आतिथ्यता रहेको शिविरमा जनप्रतिनिधी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।