कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा पनि ‘लकडाउन’ हुनसक्ने चर्चा चलेको छ । यद्यपि सरकारले यसबारे आधिकारिक निर्णय गरिसकेको छैन । विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा हेरिएको ‘लकडाउन’ कुनै पनि मुलुकका लागि बाध्यात्मक परिस्थिति हो । अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो ।
छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाउने निर्णय गरिसकेको छ । जानकारहरूका अनुसार अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा हो ।
‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ । ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ । जस्तो कि काठमाडौं उपत्यकालाई ‘लकडाउन’ गरियो भने उपत्यकामा रहेका व्यक्ति अत्यावश्यक काममा त्यो पनि अनुमति लिएर मात्रै जान पाउनेछन् । चीनको बुहानमा पनि यस्तै नीति अलबम्बन गरिएको थियो ।
गम्भीर महामारीका रूपमा देखिएको कोरोनाको संकटबाट जोगिन उपयुक्त तयारीका साथ गरिएको ‘लकडाउन’ प्रभावकारी हुने जानकारहरू बताउँछन् । ‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ ।यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन् । शुक्रबारबाट देशभरका अदालतसमेत बन्द भएका छन् । सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ ।
यस्तोमा अब सरकारले निश्चित समयका लागि होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र सरकारी कार्यालयसमेत बन्द हुनसक्ने सम्भावना रहन्छ । ‘लकडाउन’ समयमा अत्यावश्यक सामग्रीको तयारी पूर्वतयारी गर्नु हितकारी हुनसक्छ ।