नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्रियाशिल विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कपिलवस्तुले कोरोना भाईरसबाट सचेत रहन सबैलाई हार्दिक आग्रह गरेको छ । अनेरास्ववियु कपिलवस्तुले कोरोना भाईरस अर्थात कोभिड १९ का लागि भारत सँग सीमा जोडिएका नाकाहरुमा आवतजावतमा रोक लगाउने, औषधि र अत्यावश्यक बाहेकका सबै आवतजावत बन्द गर्न माग गरेका छन् ।
उपचार संक्रमण देखिएको अवस्थामा उपचारमा प्रयाप्त तयारी गर्नका लागि पनि विद्यार्थी संघ संगठनहरुले माग पनि गरेका छन् । धेरै भिडभाड हुने ठाउँहरु, अस्पताल, सार्वजनिक यातायात, बैँक, मन्दिर, मस्जिद, गुम्बा, चर्च, पार्क, व्यापारिक केन्द्र, उद्योग लगाएतका स्थानमा सचेतना अपनाउन पनि अनुरोध गरिएको छ ।
त्यस्तै कोरोनाको डर त्रास फैलाई बजारमा कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारी नगर्न पनि आह्वान गरेको छ । जिल्लाबासी विद्यार्थी, शिक्षक कर्मचारी लगाएत सम्पूर्ण आम जनतालाई सेल्फ क्वारेनटाइनमा रहनका लागि पनि अनुरोध गरीएको विद्यार्थी संगठनहरुद्धारा जारी गरीएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
अनेरास्ववियूका जिल्ला संयोजक बाबुराम अर्याल र सह–संयोजक दयाराम पौडेलको हस्ताक्षर सहित ज्ञापन पत्रमा कोरोना विरुद्ध सबै नागरिक सँगै सरोकारवाला पक्ष सजगताका उपाय सहित संयमित हुनुपर्नेमा पनि जोड दिईएको छ ।