गृहपृष्ठ अर्थ/वाणिज्य विद्युतका ३८ लाख ग्राहकले चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने

विद्युतका ३८ लाख ग्राहकले चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने

प्रकाशित मिति:

नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको महामारी रोक्न सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रेगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई ध्यानमा राख्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको मन्त्री पुनले बताए।

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट गर्न लागिएको मन्त्री पुनले बताए। ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने उनले स्पष्ट पारे। बाहिरबाट ग्यास आयात गर्नुपर्ने तर विद्युत् नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त उनले व्यक्त गरे ३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजस्वमा ५० करोड नोक्सान हुन्छ। गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवद्र्धन गर्न तथा लकडाउनका समयमा उपभोक्तालाई राहत दिने गरी महसुलमा छुट दिने निर्णय गरेको थियो।

सम्बन्धित् समाचार