पेरिस — कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपाङ्गीको मृत्यु भएको छ । ८१ वर्षीय ज्याक्सको उपचारका क्रममा फ्रान्सको पेरिसमा मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
ज्याक्स कोरोना भाइरसको संक्रमण हुनुभन्दा पहिलेदेखि नै बिरामी रहेको उनका छोराले जानकारी दिएका छन् । ज्याक्स सन् १९७७ देखि १९७९ सम्म कंगोका राष्ट्रपति भएका थिए । उनलाई सन् १९७९ मा सत्ताच्यूत गरिएको थियो । सन् १९३९ मा कंगोको उत्तरी क्षेत्रमा जन्मिएका ज्याक्स सेनामा अधिकृत थिए । राष्ट्रपति मरियन एन्गौबीको हत्यापछि उनी कंगोको सत्तामा आएका थिए । उनलाई कंगोमा लामो समय शासन चलाएका डेनिस सासौ एन्गुएसोले पदच्यूत गरेका थिए । पछि उल्टै डेनिसको सरकार ढाल्न ‘कू’ को प्रयास गरेको भन्दै उनलाई सन् १९८७ देखि १९९० सम्म जेल हालिएको थियो ।
सन् १९९१ मा मुलुकमा बहुदलीय शासन व्यवस्था लागू भएपछि उनलाई रिहा गरिएको थियो । जेलबाट रिहा भएपछि उनीले र्याली फर डेमोक्रेसी एण्ड डेभलेपमेन्ट नामक पार्टी खोले । उनी सन् १९९२ को राष्ट्रपति निर्वाचनमा पनि उठेका थिए तर हारे । पछि उनले निर्वाचित राष्ट्रपति पास्कल लिसोबासँग गठबन्धन गरेर सन् १९९४ देखि १९९६ सम्म प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाले ।
सन् १९९७ मा कंगोमा गृहयुद्ध सुरु भएपछि ज्याक्स फ्रान्समा निर्वासनमा गएका थिए । त्यसपछि उनी सन् २००७ मा कंगो फर्किए । तर स्वास्थ्यमा समस्या आइरहेकाले उनी कंगो र फ्रान्स आउनेजाने गरिरहेका थिए । एजेन्सी