कोरोना भाइरसको संक्रमण रोक्न भन्दै देशका अधिकांश नगरपालिका , गाउँपालिकाहरूले पछिल्लो समय आफ्ना मूख्य–मूख्य स्थानहरूमा हाई डोजयुक्त क्लोरिन पानी छर्किने गरेका छन् । कपिलवस्तुका केही स्थानीय तहहरूले पनि क्लोरिन युक्त पानी किटनाषक औंषधीको रूपमा आफ्ना मुख्य चोक ,बजारहरूमा छर्किएका छन् तर कपिलवस्तुको उत्तरी क्षेत्रमा अवस्थित वाणगंगा नगरपालिका यो बिषयमा सक्रिय देखिएको छैन । औंपचारिक रूपमा देश ‘लकडाउन’मा गएको नौं दिनसम्म पनि नगरपालिकाले किटनाशक औषधि छर्कन चासो नदेखाएकोमा स्थानीयहरू चिन्तित बनेका छन् ।
हिमाली र पहाडी क्षेत्रका पालिकाहरूले समेत क्लोरिन युक्त पानी छर्किदै गर्दा सुविधासम्पन्न क्षेत्रमा रहेको बाणगंगा नगरपालिकाले यस विषयमा गम्भीरतापूर्वक चासो नदेखाउनु दु:खद पक्ष रहेको सरोकारवालाहरू बताउँछन् ।
बाणगंगा नगरपालिकाका मूख्य चोकहरूमा अत्यावश्यक वस्तुहरूको खरिद बिक्री गर्नेको चहलपहल हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानिसलाई असर नगर्ने तर ब्याक्टेरिया मार्ने गरी पानीमा हाई डोजको क्लोरिन मिसाएर छर्किने काम समयमै गर्न सकेको खण्डमा सम्भावित कोरोना भाइरसको संक्रमणबाट मानसिक रूपमा समेत चिन्तित बनेका नगरबासीमा केही राहतको अनुभव हुने थियो कि ?