ग्यासको कालोबजारी गरेको भन्दै काठमाडौंको एक ग्यास स्टोरलाई वणिज्य विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । आधासिलिण्डर ग्यासलाई ८ सय रुपैयाँमा बिक्री गर्ने काठमाडौंको डल्लुमा रहेको ओम सरस्वती स्टोरलाई उक्त जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
आधा सिलिण्डर ग्यासको निगमले तोकेको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा भए पनि उक्त स्टोरले ८ सयमा बिक्री गरेको भेटिएको विभागका सूचना अधिकारी दीपकराज पोख्रेलले जानकारी दिए ।
बिहीबार विभागले खाद्यान्न तथा ग्यास बिक्री गर्ने पाँच वटा डिपो तथा स्टोरहरुको अनुगमन गरेको थियो । जसमध्ये वस्तु बिक्री मूल्यसूची नराख्ने बलम्बुको एक स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना गराइएको थियो । अन्य तीन स्टोरहरूले भने व्यपारिक मर्यादा पालना गरेको भेटिएको विभागले जानकारी दिएको छ ।