कपिलवस्तु जिल्लामा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् । जिल्लाका १० स्थानीय तहमा निर्माण गरिएको ९ सय ७७ क्वारेन्टाईन बेडमा अहिले ६ सय ९१ जना रहेका छन् जसमध्ये पुरुष ६ सय ७१ तथा महिला १९ जना रहेको प्रशासनले जनाएको छ । अहिले सम्म स्वास्थ्यकर्मीको सिफरिशमा १ सय ९ जनालाई क्वारेन्टाईनबाट डिस्चार्ज गरि घर पठाईएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी मनोज कुमार सैनिले जानकारी दिएका छन् ।
जिल्लामा कारोनाको आशंकामा एक जनालाई आइसोलेसनमा राखि उपचार गरिएको छ । ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको विजयनगर गाउँपालिका २ का ३० वर्षिय एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट किशोर बन्जाडेले बताए । छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको छ, त्यसैले बिरामीलाई आइसोलेसन बेडमा राखेर नियमित उपचार गरिएको उनले बताए । चोर नाकाका कारण सीमा क्षेत्रबाट लुकिछिपि भित्रिएसंगै करिव १ सय जना सुरक्षाकर्मी परिचालन गरि त्यस्ता नाकाहरुमा कडाई गरिएकोले भारतीय नागरिकको प्रवेश शुन्य रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । दिन प्रतिदिन क्वारेन्टाईनमा बस्नेको संख्या बढिरहेको भन्दै प्रहरी र जनप्रतिनिधिहरुलाई पनि कडाई गर्न निर्देशन दिएको उनले बताए ।