विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात् (कोभिड–१९) को डरले निजि अस्पतालहरुले उपचार गर्न नमानि रहेको समयमा कपिलवस्तु जेसिज बर्ष २०२० ले “घर घरमा डाक्टर अभियान ” चलाईरहेको छ । अभियानको शनिवार नवौं दिन पनि जेसिजले वाणगंगा वडा नम्वर १० मा उतिकै सक्रियताका साथ जनताको स्वास्थलाई मध्य नजर गर्दै खटिएको देखियो । शनिवार २ सय १३ घरपरिवारका तीन सय पचास जना अभियानबाट लाभन्वित भएका छन् । जसमा ३१ जना भारतबाट आएका रहेका छन् ।
अभियानको नवौं दिनमा कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोग,नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखा एवम बाणगङ्गा नगरपालिका वडा नं. १० को समन्वय रहेको थियो ।
शनिवार बाणगङ्गा नगरपालिका वडा नं.१० कोरिया चोक, मेचकुरी,सोनपुर,दानापुर, बालापुर,बहादुरपुर,भावपुर, बनकट्टी बस्तिका अति विपन्न परिवारले “घरघरमा डाक्टर अभियान “बाट लाभ लिएको कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए ।
अभियानमा कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डा.दिपेन्द्र चन्द, पारामेडिक्स सन्तोष खनाल ,बाणगङ्गा नगरपालिका वडा नं. १० का वडाध्यक्ष राम विहारी थारु,वडा सदस्यहरु राम नक्षत्र चौधरी, दिल कुमारी थापा , काशीराम चौधरी, बिन्दु वि.क.,वडा सचिव अशोक कुमार चौधरी, सहजकर्ता मदन चौधरी , पटना प्रहरी चौकीका अ.स.ई. हेम बहादुर रास्कोटी,स्थानीय समाजसेवी मुकेश खनाल,खिम बहदुर थापा र रमेश चाई लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा थर्मागन मेसिनद्धारा ज्वरो नाप्ने, अन्य समस्याहरु सोध्ने गरिएको कपिलवस्तु जेसिज अध्यक्ष मनोजकुमार खत्रीले जानकारी दिए ।
अभियानमा सावुन वितरण गरिनुका साथै सावुनपानिले हात धुन सिकाइएको कार्यक्रम संयोजक संस्थाका महासचिव प्रविन पौडेलले जानकारी दिए ।
कोरोना महामारीको समयमा कपिलवस्तु जेसिजले उदारहणिय काम गरेको भन्दै नेपाल जेसिजले विज्ञप्तिमार्फत बधाई दिईसकेको छ । अध्यक्ष खत्रीले आवश्यकता अनुसार अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । अस्पताल नगई घरमै आएर स्वास्थ्य जाचँ गर्दा वाणगंगा नगरपालिका वडा नं. १० का स्थानिय अत्यन्तै खुशि भएको एक स्थानियले बताए ।