गृहपृष्ठ खबर सफाई पाउनासाथ पूर्वसभामुख महरालाई संसदबाट गाडी सुविधा उपलब्ध

सफाई पाउनासाथ पूर्वसभामुख महरालाई संसदबाट गाडी सुविधा उपलब्ध

संघीय संसद सचिवालयले पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ । सफाई पाएपछि आफ्नो चुनाव क्षेत्र दाङ पुगेका पूर्वसभामुख कृष्णबहादुर महरा ।बलात्कार प्रयासको अभियोगबाट सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट स्कर्पियो गाडी सुविधामा पाएर चढ्दै आएका छन् । उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको जानकारी स्रोतले दिएको छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा परेका महरा काठमाडौं जिल्ला अदालतले फागुन ५ मा सफाइ दिएपछि रिहा भएका हुन् । सरकारले र संघीय संसद सचिवालयले ५ पूर्वसभामुख पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा सुविधा दिंदासमेत भेदभाव गरेको पाइएको छ ।

सरकारले पूर्वसभामुखद्वय सुवास नेम्वाङ र ओनसरी घर्तीलाई गाडी, चालक, १ सय ५० लिटर पेट्रोल र मर्मत खर्चसमेत नियमित रूपमा दिने गरेको छ । सचिवालयले मन्त्रिपरिषदको निर्णयबाट नेम्वाङ र घर्तीलाई गाडीलगायतको सुविधा दिइएको जानकारी सचिवालय स्रोतले दिएको छ । नम्वाङ र घर्तीलाई सुविधामा स्कर्पियो गाडी दिइएको छ ।

सचिवालयले मन्त्रिपरिषदको निर्णयबिना नै महरालाई गाडी सुविधा दिएको हो । सचिवालयले मन्त्रिपरिषदको निर्णयबिना नै पूर्वसभामुख रामचन्द्र पौडेललाई २०७३ सालदेखि गाडी सुविधा दिंँदै आएको छ ।

संघीय संसद सचिवालयले पूर्वसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाटलाई भने पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा दिएको छैन । ढुंगाना र रानाभाटले गाडी सुविधा नमागेको र सरकारले समेत केही नभनेकाले गाडी सुविधा नदिइएको दाबी सचिवालय स्रोतले गरेको छ ।

सम्बन्धित् समाचार