लकडाउनले सवारी साधन र उद्योग धन्दा ठप्प हुँदा इन्धन खपतमा आएको गिरावटले अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पहिलो पटक ऋणात्मक भएको छ ।
भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले तेल खरिदवापत क्रेतालाई नै पैसा तिर्न थालेका हुन्।
तेलको माग अत्यन्तै कम भएपछि उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गर्न थालेका छन् । जसका कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक भएको हो ।
अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।
सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको विश्लेषण गरिएको छ।
मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँने भएकाले व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिन लागि आफूसँग रहेको तेल खरिदबापत उल्टै क्रेतालाई भुक्तानी दिएको बताइएको छ ।
जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ।
८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको छ। लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन्।
केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र अरु सहयोगी राष्ट्रहरूबीच आउँदो मे महिनाबाट लागु हुने गरी प्रतिदिन १० प्रतिशतले तेल उत्पादन कटौती गर्ने सहमति भएको थियो।