तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रभित्रको खेतीयोग्य जमिन बाँझो राख्ने जग्गाधनीलाई जरिवाना गर्ने भएको छ । नगरभित्र रहेको कतिपय खेतीयोग्य जमिन बाँझै रहँदा कृषि उत्पादन बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको भन्दै नगरपालिकाले बाँझो जमिन राख्ने जग्गाधनीलाई जरिवाना गर्ने भएको हो।
नगर क्षेत्रभित्रको खेतीयोग्य जमिन घरघडेरीको नाममा बाँझो रहन गएको भन्दै सानो इकाइमा रहेको जग्गामा समेत खेती गर्न नगरपालिकाले जग्गाधनीलाई आग्रह गरेको हो।
नगरपालिकाले यसअघि नै खेतीयोग्य जमिन बाँझो राख्न नपाउने निर्णय गरेपनि कार्यान्वयन नभएपछि खाली रहेको जग्गामा १५ दिनभित्र उपयुक्त बाली लगाउन सूचना जारी गरेको हो ।
सम्बन्धित जग्गा धनीबाट खेती लगाउन सम्भव नभएको अवस्थामा छिमेकी, टोल विकास संस्था, कृषि फर्म, कृषक समूह, वडास्तरीय कृषि समिति वा सहकारी संस्थाबाट भएपनि खेती गर्न नगरपालिकाले आग्रह गरेको छ। उक्त कार्यका लागि सहजीकरण र समन्वय गर्न नगरपालिकाले वडा कार्यालयलाई निर्देशन दिएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा वडा कार्यालयलाई १५ दिनभित्र वडाभित्र रहेको खाली जग्गाको अभिलेख संकलन गर्ने र त्यसैको आधारमा जग्गा खनजोत गरी मौसमी खेती लगाउन आग्रह गरेको छ ।
जग्गाधनी बाहेक छिमेकी, कृषि समूह वा टोल विकास संस्थामार्फत लगाइएको कृषि उत्पादनको पूर्ण स्वामित्व खेती लगाउनेको हुने नगरपालिकाले जनाएको छ ।
जग्गाधनी स्वयं।ले खेती लगाउन चाहेमा पहिले नै खेती गरेकाहरुलाई ४५ दिनअगाडि सूचना गर्नुपर्ने छ भने खेती लगाएको अवस्थामा उक्त खेती भित्र्याएपछि मात्र जग्गाधनीले उपयोग गर्न पाउने नगरपालिकाले जनाएको छ।