गृहपृष्ठ कला/साहित्य मैले खोजेको श्रीमान्

मैले खोजेको श्रीमान्

मैले खोजेको श्रीमान्

मनले के के भन्छ अनि के के सोंच्ने गर्छ । मानिसहरुमा अनगिन्ती विचार, भाव र आशावादी सोँचहरु हुने गर्छ । सम्पूर्ण मानिसहरुमा आफूले चाहेको नजिकको मान्छेमा के कस्तो गुणहरु, विशेषताहरु, बानीव्यवहारहरु भए ठिक हुन्थ्यो र आफूले खोजेको सूचि भित्र त्यो मान्छे पर्छ भन्ने कुरा उसँगको व्यवहारहरुबाट अवगत हुन्छ । त्यसपछि उनीहरु सम्बन्ध तोड्ने वा जोड्ने कुराको निष्कर्षमा पुग्ने गर्छन् । अरु मानिसहरूमा झै मैले पनि आफूले सँगै जिन्दगी बिताउने केटा यस्तो भए र उस्तो भए हुन्थ्यो भन्ने अनगिन्ती भावनाहरु मनमा राखेकी हुन्छु । मलाई लाग्छ प्रायजस्तो सबैमा यस्तै होला।

मलाई सहयोगी भावना भएको समाजसेवी, बुद्धिमानी, दुख पीडा बुझ्ने, आफ्नो परिश्रममा बिश्वास गर्ने, सामान्य रहनसहन र भेषभुषा भएको, आफूसँग भएको ज्ञान आदानप्रदान गर्ने, मलाई धेरै माया गर्ने, दुख सुख बुझ्ने, सरसल्लाह र मार्गनिर्देशन गर्ने, जिन्दगिको अन्तिम घडीसम्म साथ दिने, प्रत्यक्ष रुपमा सहयोग गर्न नसके पनि अप्रत्यक्ष रुपमा सल्लाह दिने केटा मन पर्छ । यस्तो मान्छे मन पर्नु त स्वभाविक नै हो सबैमा तर प्राप्त गर्न त आजभोलिको समाजमा धेरै गाह्रो छ जस्तो लाग्छ । मनले चिताउनु र प्राप्त गर्नुमा धेरै अन्तर रहेको हुन्छ।

मेरो पनि बिहे गर्ने उमेर भैसक्न लाग्यो । भित्रभित्रै मेरो घरमा बिहेको प्रस्तावहरु आउन थालेका छन् । मलाई निकै डर लाग्छ । बिहेवारी भनेको जिन्दगीमा एक चोटि हुने कुरा हो । आफूले अझै सम्म कसैसँग माया नगरेकी भएकाले कोहि पनि केटाहरुको व्यवहारहरु चिन्न पाएकी छैन । घरमा एक्कासी माग्न आएका केटाको मुख हेरेर उस्को भित्री ब्यवहारहरु थाहा हुँदैन । उस्को भित्री व्यवहार कस्तो छ भनेर बुझ्न नसकी बिहेको निर्णयमा पुग्नु भनेको जिन्दगी खतरामा लैजानु हो ।

वर्तमान समाजमा हजारौं समस्याहरु आफ्नो आँखा अगाडि देखेकी भएर बिहेको निर्णय लिन धेरै नै डर लाग्छ । घरमा बिहेको प्रस्ताव आउँदा मुटु नै ढुक्ढुक भएर आउछ । दिनहुँ हाम्रो समाजमा भएका अप्रिय घटनाहरु देख्दा मन त्रसित भएर आउँछ । विश्वासको वातावरण नभएको कारण मैले सजिलोसँग निर्णय लिन सकेकी छैन् ।

खोट त भगवानमा पनि हुन्छ । हामीहरु त मानिस हौं । आफ्नो गल्तिहरुको महशुसीकरण गरेर सच्याउनु नै मान्छेको नयाँ पहिचान र आत्मजागरण हो । जो मान्छे आफ्नो गल्तिहरुको महशुसीकरण गरेर त्यस्लाई सुधारात्मक ढंगले अघि बढ्छ ऊ अवश्य आफ्नो आगामी दिनहरु सहजै रुपमा अघि बढाउन सक्छ । आफ्नो गल्तीको महशुस गर्न नसक्ने मान्छे भइयो भने कहिल्यै सम्बन्ध गाढा र प्रभावकारी हुन सक्दैन त्यसैले मलाई गल्ती स्वीकार गर्दै सुधारको बाटोमा हिड्ने केटा भए मात्र सम्बन्ध गास्न सकिन्थ्यो जस्तो लाग्छ तर यो कुरा मैले कसरी चिन्नु ? चिन्नको लागि नै समस्या हुने भयो । उसलाई छोटो समयमा नै चिन्ने आधारहरु के होला जस्तो लाग्छ । व्यवहार नगरी चिन्ने मौका पाइदैन तर एक्कासी पहिलोपटक घरमा माग्न आएको केटा कस्तो छ भनेर मैले कसरी चिनूँ?

नारी भएर जन्मेपछी बिहे नगरी बस्छु भन्नू पनि सम्भव नहुने रहेछ त्यस्मा पनि हाम्रो पिछडिएको समाजमा धेरै गाह्रो छ । बिहे त एकचोटी नगरी सुख नै नहुने अवस्था छ। राम्रो बुझ्ने श्रीमान् पाए त सौभाग्यको कुरा हो तर यस्तो भएन भने त पूरा जीवन अन्धकारमय गोरेटो जस्तो हुन्छ । मेरो हात माग्न आउँदा घरपरिवारले केटा त ठिकै रहेछ यत्तिको केटासँग बिहे गरेमा सुख पाउँछ्यौ भन्नुहुन्छ तर मैले उसलाई कसरी चिन्ने र कसरी बिश्वास गर्ने म धेरै दोधारमा परिरहेकी हुन्छु । मैले सोचेको बानीब्यवहार उसमा होला कि नहोला भनेर मन डराइराख्छ ।

सम्बन्धित् समाचार