काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । गम्भीर बिरामी भएर बुधबार राति अस्पतालमा भर्ना भएका ऋषि कपूरको बिहीबार निधन भएको हो । क्यान्सर पीडित उनको अवस्था गम्भीर भएपछि बुधबार राति मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।
६७ वर्षीय कपूरको बिहीबार बिहान निधन भएको वरिष्ठ बलिउड अभिनेता अमिताभ बच्चनले बताएका छन् । उनले आफू टुटेको लेखेका छन् । अमिताभ र ऋषि कपूरले थुप्रै चलचित्र संगसंगै खेलेका थिए । ऋषि कपुरलाई सन् २०१८ मा क्यान्सर भएको थियो । उनी ११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । उनका छोरा एवं अभिनेता रणवीर कपूर भने जाने आउने गर्दथे ।
ऋषिलाई पछिल्लो पटक छातीमा इन्फेक्सन देखिएको थियो । स्वास लिन समस्या रहेको थियो । हल्का खोकी पनि रहेको थियो । यी लक्षण कोरोना भाइरसका पनि भएकाले उनको कोभिड–१९ को पनि टेष्ट हुने बताइएको थियो । दुई जना विशेषज्ञ चिकित्सकले उनको उपचार गरिरहेको बताइएको थियो । गएको बिहीबारदेखि उनको स्वास्थ्य बिग्रिएको थियो । त्यतिबेला अस्पतालमा भर्ना गरिए पनि चार घण्टापछि डिस्चार्ज भएका थिए ।
बुधबार मात्रै क्यान्सरकै कारण बलिउडका अभिनेता इरफान खानको मृत्यु भएकाले बलिउड अहिले शोकमा छ । बलिउडकर्मीहरु सन् २०२० लाई बलिउडले शोकको वर्षको रुपमा मनाउनु पर्ने पनि बताएका छन् ।
ऋषि कपूरले थुप्रै चर्चित चलचित्र खेलेका छन् ।
ऋषि कपूरले पहिलो फिल्मफेयर अवार्ड ‘बाबी’ चलचित्रबाट जितेका थिए । त्यसपछि उनले २५ वर्षसम्म कुनै फिल्मफेयर अवार्ड पाएनन् । तर २५ वर्ष पछि उनलाई बलिउडमा २५ वर्ष पूरा गरेको भन्दै फिल्मफेयर अवार्ड दिइएको थियो । ‘मेरा नाम जोकर’ चलचित्रबाट उनी पहिलो पटक पर्दामा देखिएका थिए । उनले चकलेटी हिरोजस्तै ९० वटा रोमान्टिक चलचित्र खेलेका थिए ।