गृहपृष्ठ खबर संसद अधिवेशन वैशाखको अन्तिम साता बोलाउने सरकारको तयारी

संसद अधिवेशन वैशाखको अन्तिम साता बोलाउने सरकारको तयारी

१८ बैशाख, काठमाडौं

संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुवै सदनको बैठक सञ्चालन गर्ने सचिवालयको तयारी छ ।

सोही अनुरुप हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटासँग छलफल गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री ओलीले हिजो नै संसद भवन नयाँ बानेश्वरको स्थलगत अवलोकनसमेत गरेका थिए ।

सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने विषयमा स्वयं प्रधानमन्त्री ओलीले चासो राखेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

सचिवालयका अनुसार अब रङ रोगनको काम मात्रै बाँकी छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।

बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ ।

नियमावली अनुसार जेठ पहिलो साता नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने हुन्छ । बजेट पेश गर्नुअघि पूर्वबजेट छलफल गर्नुपर्छ ।

पूर्वबजेट छलफलमा सांसदहरुले दिएका सुझावलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछ ।

सम्बन्धित् समाचार