विश्व इतिहासमा युद्धका पाना पल्टाएर हेर्दा,थप केही अक्षरहरु जोडिने भए, जसमा ‘विज्ञान र जिवविज्ञान’ बिच युद्ध हुन पुगेको छ। चिनको वुहान(Wuhan)बाट महामारिको रुप लिएर फैलिएको एउटा सूक्ष्म जीवाणु अर्थात् कोरोना भाईरस(COVID-19)ले आज संसारलाई नै एकैपटकमा ‘हल न चल’ बनाइदिएको छ।अवस्था एतिसम्म भइसक्यो कि, थुकले पैसा टिप्नेहरु आज धनको बेवास्ता गरेर आफ्नो देह जोगाउने निहुँमा गुफा पस्दै छन्।पृथ्वी ध्वस्त गराउने क्षमता छ भन्दै धाक लगाउने अमरिका,कोरिया, चीन जस्ता देश आफैंमा त्रशित र हतोत्साहित छन् र गुहारको माग गर्ने अवस्थामा पुगिसकेका छन् । गर्व गरौँ नेपाली,आज हामीसँग न त Atom bomb छ न त Hydrogen bomb नै, तर हामी सुरक्षित र सचेत छौँ र यहि छ हामी नेपालिको भिन्न पहिचान।
हाम्रो विकासोन्मुख राष्ट्र नेपाल पनी कोरोना भाईरसको जालमा पर्न पुगेको छ।उक्त भाईरसको प्रभावकारी अौषधी भनेको ‘लकडाउन’ हो भन्ने जगतले पुष्टि गरे पश्चात् नेपाल सरकारले पनि चैत्र-११ गते मंगलबार बाट लकडाउन अभियानको थालनी गर्यो जुन(No Entry No exit) सिद्धान्तमा आधारित छ।आफ्ना जनता र देशको सुरक्षाका लागि समयमै लकडाउनको घोषणा गर्ने सरकारलाई सम्मान व्यक्त गर्दै म हालका दिनचर्याहरुमा आएका परिवर्तनहरुलाई अनुभवी र भोगाईका आधारमा छोटो विश्लेषण तर्फ मोडिन चाहन्छु।
हामी सबैका यी दिनहरु केही भिन्न तरिकाले बितिरहेका छन् । “दिन कसरी कटिरहेका छन् त?” भन्ने त साझा प्रश्न नै भइसकेको छ।मेरो पनि दैनिक कार्यतालिकामा धेरै परिवर्तनहरु आएको मैले महसुस गरेकी छु। कलेजको पाठ्यक्रममा मात्र भुलिराख्ने र दिन पनि कलेजमै बित्ने हुँदा यो समयावधि भने अलि खालिपन जस्तो पनि मैले अनुभूति गरेकी छु। तर म भने यो अवसरलाई सधाको विदा झैँ गुमाउन चाहदिनँ भन्ने विचारले केही नयाँ कार्यहरु तर्फ लागिरहेकी छु। प्रथमतः म परिवारसँगै बसेर सुखदुःख साट्न पाउँदा निकै हर्षित छु। अझै बुवाआमाका भोगाईहरु र अनुभव सुन्दा त साँच्चिकै हामी मानवजाती कसरी यहाँसम्म अाइपुग्यौँ भन्ने प्रश्न मनमा उब्जिन्छ। यो समयावधिमा मैले राजनिती र साहित्यमा धेरै जान्ने र बुझ्ने मौका पनि पाएकी छु। साहित्यकारमा देवकोटा र मन्त्रीमा के.पि ओलि मात्र चिनेकी मैले अहिले बल्ल साहित्यिक रचना र राजनितिक वहस तर्फ रुचि बढाउन थालेकी छु। “अथक योद्धा,महको म, मेरा सपना र My politics” जस्ता कृतिहरुबाट पनि म राजनिती र साहित्यतर्फ धेरै प्रभावित र प्रेरित भएकि छु। खाली कापिकिताब र कलम चलाएका यि हातले कोदाली र हँसिया समाउँदा त साँच्चै आश्चर्य लाग्दो रहेछ। ममिलाई पकाउने काममा सघाउँदा म पनि पकाउन सकृय भएकी छु र यो अवसर पनि मलाई लकडाउनले नै मिलाइदियो। “मौका अाउँछ पर्खिदैन” भन्ने महसुस गरेर पनि मैले यो लकडाउनलाई शिक्षणका रुपमा लिएकी छु। कलेजको चापले छुटिरहेका मेरा कार्यहरू पनि यहि समयावधिमा सम्हाल्दै छु। साथै आफुमा भएका ज्ञान र कला पनि परिवारमाझमा प्रस्तुत गर्न पाउँदा म निकै खुसी छु।
तर अर्कातिर कता कता म अल्छिपनामा पनि अलि लम्किरहेको मैले अनुभूति गरेकी छु। सबेरै उठेर किताब फिँजाउने गरेकी मैले,अहिले कलेजका किताबको बेवास्ता गरेर आफुलाई निद्रामा भुलाउन थालेकी पनि छु। मनोरञ्जनका क्रममा समाजिक सन्जाल तर्फ पनि म अलि बढि आकर्षित देखिएको म अनुभव गर्छु। घरमै बस्ने हो भन्ने भएपछी, कता कता सरसफाइमा पनि लापरबाही गरेको सम्झन्छु। मुख्यतः आफ्नो अध्य्यनको बेवास्ता गरेर अरु क्रियाकलापमा ध्यान दिँदा,त्यतैतिर बढि लम्किरहेकि छु जस्तो पनि मैले अनुभूति गरेकी छु तर म अठोट गर्छु कि यी क्रियाकलापमा मैले शिघ्रातिशिघ्र सुधार ल्याउने प्रयास गर्नेछु।
अन्ततः “जिवन,जगत र भोगाई”का मेरा पानाहरुमा पनि लकडाउनको समयका धेरै अनुभुतिहरु जोडिने भए। हो,म पनि यस देशकि एक सचेत नागरिक हुँ र लकडाउनको पूर्ण पालना गरिरहेकी पनि छु र अरुलाई पनि सचेत गराइरहेकी छु।हामी सम्पुर्ण नेपालिहरु एकताबद्ध भएर यो भाईरस विरुद्धको युद्धलाई हातमा लिने छौँ भन्ने अभिलाषाका साथ सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा स्वास्थ्य लाभको शुभकामना टक्र्याउन चाहन्छु।
“सजग बनौँ, सचेत रहौँ, लकडाउनको पूर्ण पालना गरौँ”
धन्यवाद !
सकल सत्य समर्थनद्वारा आयोजित लेखन प्रतियोगितामा प्रथम हुन सफल लेख ।