भियतनाममा सोमबारदेखि विद्यालय खुलेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि विद्यालय बन्द भएको ३ महिनापछि सोमबार त्यहाँका विद्यालय खुलेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आएसँगै विद्यालयहरू सञ्चालनमा आएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् ।
तीन महिनापछि विद्यालय खुले पनि सुरक्षाका उपाय अपनाउन अनिवार्य गरिएको छ ।
गत फेब्रुअरीको सुरुदेखि भियतनाममा सबै विद्यालयहरु बन्द थिए । विद्यालय खुलेसँगै सोमबार अधिकांश विद्यार्थीहरु विद्यालय गएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार भियतनाममा एउटा कोठामा भीड नहुने गरी सानो समूहमा छुट्याएर पढाइ थालिएको छ ।
यद्यपि, केही विद्यालयलाई भने भौतिक दूरी कायम राखेर पठनपाठन सञ्चालन गर्न कोठा र शिक्षक अभाव देखिएको छ ।
भियतनाममा कोरोनाबाट कसैको ज्यान गएको छैन । तर, २ सय ७१ मा संक्रमण देखिएको छ ।