गृहपृष्ठ खबर नेकपाको स्थायी कमिटी बैठक बजेट आउनुभन्दा पहिले नबस्ने

नेकपाको स्थायी कमिटी बैठक बजेट आउनुभन्दा पहिले नबस्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक सरकारले प्रस्तुत गर्ने बजेटअघि नबस्ने भएको छ । नेकपाको नेतृत्वमा रहेको सरकार वजेटको तयारीमा व्यस्त हुनुपर्ने भएकाले सो अवधिमा स्थायी कमिटीको बैठक बस्न उचित नहुने प्रस्ताव नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्ताव राखेका छन् ।

सो प्रस्तावप्रति अध्यक्ष प्रचण्ड पनि सकारात्मक देखिएको बालुवाटार स्रोतले जनाएको छ । जेठ २ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । त्यसको तयारी गर्नुपर्ने, नीति तथा कार्यक्रमपछि बजेट प्रस्तुत गर्ने तयारीमा लाग्नुपर्ने भएकाले त्यसबीचमा स्थायी कमिटीको बैठक बस्नु उचित नहुने दुईजना अध्यक्षको बीचमा लगभग सहमति नै भएको स्रोतको दावी छ ।

भोलिदेखि प्रि बजेटमा पनि छलफल हुने बताइएको छ । त्यसमा प्रतिपक्षी दलहरु आक्रमक रुपमा प्रस्तुत हुने भएको छ । त्यसको प्रतिरक्षाका लागि नेकपा पनि तयार हुनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने पनि देखिएको छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममा पार्टीको बैठकहरु बस्यो भने नेताहरुको ध्यान अन्यन्त्र जाने भएकाले अहिलेलाई स्थायी कमिटीको बैठक रोक्नुपर्ने अवस्था रहेको अध्यक्ष ओलीको प्रस्ताव थियो । आज अध्यक्षद्धय अ‍ोली र प्रचण्डबीच विहान छलफल भएको थियो ।

यद्यपी नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग छलफल गरेर एक दुई दिनमै स्थायी कमिटीको बैठक बोलाउने प्रतिकृया विहिवार दिएका थिए । २४ गते बसेको सचिवालयको बैठकले पनि दुईजना अध्यक्ष बैठक बसेर स्थायी कमिटीको बैठक बसाउने म्याण्डेट दिएको थियो ।

तर आज भएको छलफल अनुसार वजेटपछि नै बैठक बस्ने सहमति भएको बताइन्छ तर प्रचण्ड पक्षधर नेताहरुले यसमा प्रचण्डले सहमत जनाएका होला भन्नेमा विश्वास नलागेको बताए ।

यता, स्थायी कमिटीको बैठक बोलाउन शीर्ष नेताहरुलाई दवाव दिइरहेका छन् । २० जना स्थायी कमिटी सदस्यहरुले दवाव समूह बनाएर तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गर्दै आएको छ । बैशाख २४ गते नै त्यो समूहले अध्यक्ष प्रचण्डलाई भेटेर बैठक बोलाउनका लागि दवाव दिएको छ ।

तर, बैठक बोलाउन प्रधानमन्त्री ओली चासो देखाएका छैनन् । स्थायी कमिटीमा ओली अल्पमतमा देखिएका छन् । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अ‍ोलीको राजिनामाको कुरा उठ्ने भएकाले त्यसलाई मथ्थर पार्नका लागि जति सक्दो बैठकलाई टार्ने नै बुद्धिमानी हुने ओली पक्षले बुझेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा माहोल नआएसम्म बैठक बसाउदैनन, स्थायी कमिटीका एक सदस्यले भने, नीति तथा कार्यक्रम र वजेटकै नाममा बैठकलाई सार्ने, त्यसले नभए बालुवाटारमा सचिवालय तथा शीर्ष नेताहरुको बैठक बसाएर नेताहरुलाई अल्झाइ राख्ने रणनीतिमा प्रधानमन्त्रीज्यु रहनु भएको छ ।’

सम्बन्धित् समाचार