कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको सङ्ख्या १५ पुगेको छ भने नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ ।
नयाँ संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका–५ बैदौलीका ८ जना रहेका छन् । यशोधराकाे क्वारेन्टाइनमा राखिएका ६२ जनाको नमुना परिक्षणका लागि पठाइएकोमा हालसम्म ८ जनामा कोरोना संक्रमण देखिएको छ भने बुद्धभूमि नगरपालिका– मानपुरका १ जना र धनकौलीका १ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । बुद्धभूमिका क्वारेन्टाइनमा राखिएका १२२ जनाको नमुना परिक्षणका लागि पठाइएकोमा हालसम्म २ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू सबै भारतबाट आएका र क्वारेन्टाइनमा बसेका बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलबिक्रम बेलबासेले बताउनुभयो ।
संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी बाँकेसमेत गरी प्रदेश नम्बर ५ मा ३९ जना फेला परेका छन् । बाँकेमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
सोमबार १० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।