कपिलवस्तुको कृष्णनगर नगरपालिकाका शाखा अधिकृत कोरोनाबाट संक्रमित भए । सोही नगरपालिकामा कार्यरत सरसफाईकर्मीमा पनि नतिजा पोजिटिभ आयो ।
कोरोनाबारे सचेतना बाँड्ने र राहत संकलनमा हिँडिरहेका अधिकृतमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तुको गाउँगाउँमा कोरोना फैलिएको आशंका गरिएको छ । कपिलवस्तुमा व्यक्तिगत लापर्वाही र लकडाउन उलंघनले कोरोना गाउँगाउँमा फैलिएको बताइएको छ । सुरक्षाकर्मीलाई सुरक्षाका उपकरण छैनन् । सामान्य माक्सकै भरमा सीमामा खटिएका छन् । सुरक्षित रहनसक्ने अधिकृत स्तरका कर्मचारीमा भने लापर्वाही देखिन्छ ।
कपिलवस्तुमै अन्य चार सुरक्षाकर्मी र एक नर्समा समेत कोरोना देखिएको छ । व्यक्तिगत सुरक्षण उपकरण नहुनु र सामान्य सावधानी नअपनाउँदा कोरोना फैलिएको जानकारहरु बताउँछन् ।
चार सुरक्षाकर्मीहरु कार्यालय र सीमा नाकामा परिचालित थिए । कृष्णनगरमै कार्यरत प्रहरी, शसस्त्र र अनुसन्धानका जुनियर अधिकृतमा कोरोना पोजिटिभ छ । अर्का हवल्दार प्रहरी निरीक्षकको गाडी चलाउने हुन् ।
नगरपालिकाका शाखा अधिकृत भारतबाट आएका भाइ पर्नेलाई भेट्न गएका थिए । त्यहीँबाट कोरोना सरेको हुनसक्ने अनुमान गरिएको कृष्णनगरका मेयर रजतप्रताप शाहले बताए ।
उनै अधिकृतसँग नगरपालिका मेयरसहित सबै वडाध्यक्षहरुको भेटघाट भएको थियो । उनी कार्यालयमै आएर काम गरेका थिए ।
‘मैले पनि हिजोअस्ती नै भेटेँ, उहाँले धेरै जनासँग भेट्नुभएको छ, मेयर शाहले भने,‘ अहिले हामी सबै घरकै क्वारेन्टाइनमा बसेका छौँ । वडाध्यक्ष र कर्मचारीहरुलाई पनि फोनबाटै काम गर्न भनेको छु ।’
कृष्णनगर नगरपालिकाका अन्य तीन जना स्थानीय पनि संक्रमित छन् । प्रहरी नै संक्रमित भएपछि ब्यारेक नै जोखिममा छ । सफाईकर्मी भने क्वारेन्टाइनमै काम गरिरहेकाले सरेको अनुमान गरिएको छ ।
एक ६ वर्षीया बालिकामा समेत कोरोना देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनमा कोरोना देखिएको हो । गाउँमै रहँदा वा अस्पतालमा स¥यो निर्काैल भएको छैन । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगिसकेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय समेतमा कोरोना देखिएपछि अवस्था भयाभह भैसकेको मेयर शाह नै बताउछन् ।
संक्रमितहरुका सम्पर्कमा आएकाहरुलाई कसरी ट्रेसिङ गर्ने भन्ने अन्योल छ । जनशक्ति पनि कम छ । भारतबाट आएकाहरुको संख्या समेत करिव पाँच हजारभन्दा बढी भएकाले झन समस्या निम्तिएको हो । कृष्णनगरमा मात्रै ८ सय जना क्वारेन्टाइनमा छन् । बहादुरगञ्जमा १ हजार बढी क्वारेन्टाइनमा राखिएको छ । यी सबै भारतबाट नेपाल प्रवेश गरेका हुन् । यी सबैको चेकजाँच र क्वारेन्टाइन व्यवस्थापन झन जटिल भएकाले कोरोना संक्रमण उच्च दरमा हुने आकलन गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार भारतबाट आउनेलाई जुन पालिका घर भएका हुन त्यहीको क्वारेन्टाइनमा राखिएको छ ।