मंगलबार कोरोना संक्रमति पुष्टि भएकी एक महिला तीन जिल्लामा हिँडडुल गरेको पाइएको छ । वैशाख १९ गतेदेखि जेठ ५ गतेसम्म उनी रुपन्देही, नवलपरासी र काठमाडौंमा बसाइ गरेको पाइएको हो । रुपन्देहीको कोटीहवा घर भएकी २४ वर्षीया उनी वैशाख १९ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिका -२ (माइती घर) मा पुगेकी थिइन् । माइती घरमा उनी ९ दिन बसेकी थिइन् । श्रीमान्सँग २९ गते मोटरसाइकलमा काठमाडौं पुगेकी उनले जेठ ५ गते स्वाब परीक्षण गर्न दिइएकी थिइन् ।
काठमाडौंको कलंकीमा डेरामा बस्ने उनीहरु दुवैलाई घरभेटीले स्वाब परीक्षण गर्न सुझावको बताइएको छ । दुई जनामध्ये महिलाको मात्र मंगलबार पोजेटिभ रिपोर्ट आएको हो । दुवैजना काठमाडौंमा जागिर गर्ने बताइएको छ । संक्रमितपछि जिल्लामा रहँदा उनीसँग सम्पर्कमा आएका १२ जनाको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि भरपुर पठाइएको स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईले बताए ।
संक्रमित पाइएपछि नगरपालिकाले वडावासीलाई घर बाहिर हिँडडुल नगर्न भनेको छ । यसअघि जिल्लाका एकजनामा संक्रमित देखिएको थियो । ८ स्थानीय तह रहेको जिल्लामा अहिले ९० जना क्वारेन्टाइनमा छन् ।