कोरोना भाईरसकोे त्रासका कारण देशमा गरिएको बन्दाबन्दीले कपिलवस्तु सहित देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । घरमा नै बसेर अध्ययन गर्नुपर्ने अवस्थाको सिजना भएको छ । कोरोनाको प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन नै देखिन्छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन ।
विद्यार्थीहरु आफ्नो भविष्यप्रति चिन्तित देखिन् थालेका छन् । सुनौलो भविष्यको सपना बोकेर अघि बढिरहेका विद्यार्थीका सामु अचानक देखिएको महामारीको विपत्तिले मानसिक तनावसमेत सिर्जना गर्न थालेको छ । जिल्लांमा केही विद्यालयले विदयार्थीलाई मध्यनजर गरेर स्थानीय रेडियो र टेलिभिजन तथा अनलाईनमार्फत पठनपाठन कार्य अघिबढेता पनि खासै प्रभावकारी भने हुन सकेको छैन् ।
यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेरकै अवस्थामा रहेकोप्रति अभिभावकले गुनासो गर्न थालेका छन् । अभिभावकको भनाई छ, “बालबालिकाको अध्ययन गर्ने बानी नै छुट्न लागिसक्यो,सम्बद्ध निकाय भने पर्ख र हेरकै अवस्थामा छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले कोरोना प्रभावको यो जटिल अवस्थामा अहिले तत्काल नयाँ नीतिगत निर्णय लिने अवस्थामा मन्त्रालय नरहेको बताए ।
सङ्क्रमण धेरै लम्बिएको अवस्थामा विभिन्न विकल्पमा जाने हिसाबले आफूहरूले आन्तरिक तयारी गरिरहेको जानकारी उनले दिए ।









